तारागाँउ रिजेन्सीमाथि छानबिन गर्न समिति गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तारागाँउ रिजेन्सीमाथि छानबिन गर्न समिति गठन


२ चैत्र २०७८, बुधबार


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारागाँउ रिजेन्सी होटल्स लिमिटेडमा भएको शङ्कास्पद लगानी र बैङ्किङ कारोबारबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव होम लुइँटेलको संयोजकत्वमा गठित समितिमा चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द, अधिवक्ता वसन्त बस्नेत, महेन्द्र थापा सदस्य र मन्त्रालयकै उपसचिव टेकनारायण पौडेल सदस्यसचिव तोकिएको छ । समितिलाई प्रतिवेदन बुझाउन एक साताको समयावधि दिइएको छ ।

नेपालको पर्यटन विकासका लागि भन्दै २०४९ सालमा सरकारले तारागाँउ विकास समितिको लगानीमा तारागाँउ रिजेन्सी होटल्स लिमिटेड स्थापना गरेको थियो । निजी क्षेत्रबाट राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठ समूहको लगानीमा तारागाँउले करिब ३० प्रतिशत लगानी गरेको थियो ।

सर्राफ-श्रेष्ठ समूहले बिचमा होटेलमा भारी खर्च देखाएर तारागाँउको हिस्सा करिब ९ प्रतिशतमा सीमित गरेका थिए । सोहीबारे अध्ययन गर्न समिति गठन भएको हो । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले अहिले बौद्धमा हायात ब्रान्डमा होटेल सञ्चालन गरिरहेको छ ।

अध्ययन समितिले तारागाँउ विकास समितिमा भएको अनियमितता, हायात होटेल सञ्चालनका क्रममा भएको कामकारबाहीको अध्ययन गर्नुका साथै बौद्धस्थित करिब डेढ सय रोपनी जग्गा कम्पनीको नाममा गएको विषयमा समेत अध्ययन गरी प्रतिवेदन बुझाउने मन्त्रालय स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस