राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री देउवा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री देउवा


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्य योजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा बुधवार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भन्दै यससम्बन्धी कार्य योजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका हुन् ।

उनले उक्त कार्य योजना कार्यान्वयन अनुगमनको जिम्मेवारीसमेत परिषद् सचिवालयलाई रहेकाले यस गहन जिम्मेवारीलाई प्राथमिकताका साथ पुरा गर्ने अपेक्षा रहेको उल्लेख गरे । उनले मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीको वस्तुनिष्ठ विश्लेषणमा राष्ट्रिय सुरक्षा परिषद्ले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्दा तथा नेपाली सेनाको परिचालन तथा नियन्त्रण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने दायित्व राष्ट्रिय सुरक्षा परिषद्लाई दिएको उनको भनाइ छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको एकीकृत कार्य योजनाको मार्ग निर्देशिका सार्वजनिक गरेका थिए । सुरक्षा नीतिको आधारमा सुरक्षा परिषद्ले मार्ग निर्देशिका पुस्तिका तयार पारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस