चुनाव हारेपछि सोनिया गान्धीले हटाइन् सिद्धुसहित कङ्ग्रेसका पाँच प्रदेश प्रमुख « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चुनाव हारेपछि सोनिया गान्धीले हटाइन् सिद्धुसहित कङ्ग्रेसका पाँच प्रदेश प्रमुख


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । भारतमा कङ्ग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पाँच प्रदेशका पार्टी प्रमुखलाई बर्खास्त गरेकी छन्।

द हिन्दुका अनुसार हालै विधान सभा चुनाव भएका पाँच राज्यका पार्टी प्रमुखलाई गान्धीले बर्खास्त गरेकी हुन्। चुनावी हारपछि पार्टीलाई पुनर्संरचना गर्न उनीहरूलाई जिम्मेवारीबाट हटाइएको कङ्ग्रेस प्रवक्ता रन्दीप सुर्जेवालाले जानकारी दिए।

बर्खास्त हुनेहरूमा पन्जाबका कङ्ग्रेस प्रमुख नवोजित सिंह सिद्धु, उत्तर प्रदेशका अजय कुमार लल्लु, उत्तराखण्डका गणेश गोधियाल, गोवाका गिरिश चोदानकर र मणिपुरका एन लोकेन सिंह छन्।

क्रिकेटरबाट टिभी सो हुँदै राजनीतिमा आएका सिद्धुले गत जुलाईमा मात्र पार्टी प्रदेश प्रमुखको जिम्मेवारी पाएका थिए।

मार्च १० मा आएको यी पाँच राज्यको विधान सभा चुनावको परिणाममा कङ्ग्रेस सबै राज्यमा पराजित भएको थियो। यो पराजयपछि कङ्ग्रेसभित्र पुनर्संरचनाको माग उठिरहेको छ।

यसअघि गत आइतबार बसेको कङ्ग्रेस आईको सेन्ट्रल वर्किङ कमिटी (सिडब्लुसी) को बैठकले सोनिया गान्धीकै नेतृत्वमा पार्टीले काम गर्ने विश्वास व्यक्त गरेको थियो।

केन्द्रीय समितिका नेताहरूले गान्धीकै नेतृत्वमा काम गर्ने व्यक्त गरेपछि पार्टीले अब छिट्टै चिन्तन शिविर आयोजना गर्ने निर्णय गरेको महासचिव के सी वेणु गोपालले जानकारी दिए।

उक्त चिन्तन शिविरमा पार्टीको आगामी मार्गदिशाबारे गहन छलफल हुने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस