सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइने छ: शिक्षामन्त्री पौडेल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइने छ: शिक्षामन्त्री पौडेल


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालका सार्वजनिक विद्यालयलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताएका छन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको हीरक महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले शिक्षकको सक्रियताको आवश्यकतालाई महसुस गर्दै नेपाल शिक्षक महासङ्घसँग छलफल गरेर शिक्षकका माग सम्बोधनका लागि सरकारले सहमति गरेको जानकारी दिए ।

मन्त्री पौडेलले दश वर्षे शिक्षा सुधारका कार्य योजना तर्जुमा हुँदै गरेको र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सरकार र सबैले साझा सङ्कल्प गर्नुपर्नेमा जोड दिए । उनले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रमिक सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको अवगत गराउँदै शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य र मेहनतका कारण विद्यालयको शैक्षिक स्तरमा सुधार आएको बताए । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शिक्षक, विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

मुलुकभरमै अब्बलमध्येको एक सामुदायिक विद्यालयका रूपमा रहेको सो विद्यालयको स्थापना विसं २००३ मा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस