सिन्धुपाल्चोक । देश सङ्घीयतामा गएपछि यहाँका नागरिकले घरदैलोमै सरकार पुगेको आभास पाएका छन् ।
कतिपय स्थानीय तहले उदाहरणीय काम गरेर देखाएका पछि छन् । तीमध्ये इन्द्रावती गाउँपालिका एउटा उदाहरणीय स्थानीय तह बन्न पुगेको छ । उक्त गाउँपालिकाले जनभावनाअनुसार विभिन्न योजना तथा परियोजना सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताए ।
गाउँपालिकाको कार्यपालिकामा आफ्नो अल्पमत भए पनि हालसम्म कुनै पनि विषयमा अवरोध सिर्जना नभएको आम नागरिकको मागअनुसार नै योजनाबद्ध तरिकाले पालिकाले विकास र निर्माणका काम गर्दै आएको उनको भनाइ थियो ।
हालसम्म सबै वडाका टोल टोलमा मोटर बाटो खन्ने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने काम भइरहेको छ । विद्यतीकरणअन्तर्गत पालिका काठे पोल मुक्त गाउँपालिका घोषणाको अन्तिम तयारीमा छ भने पालिकाभित्र बसोबास गर्ने करिब २८ हजार भन्दा बढी नागरिकलाई स्वच्छ खानेपानी खाने उपलब्ध गराउन लागिएको छ
स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको र गाउँपालिकाको प्रशासनिक भवनले उत्तिकै चर्चा पाइरहेको छ । प्यागोडाशैलीमा निर्माण गरिएको भवन सामाजिक सञ्जालका साथै विभिन्न सञ्चारमाध्यममा चर्चाको विषय बनेको हो । यसै गरी सबै वडा कार्यालयको भवन निर्माण भएर सेवा प्रवाह पनि हुन थालेको छ ।
खेलकुदको विकासका लागि सबै वडामा एक वडा एक खेल मैदानको अवधारणा ल्याई सबै वडावासीले आफ्नै वडाको मैदानमा खेल्ने अवसर उपलब्ध गराउन केही वडामा खेल मैदान निर्माण भइसकेका र केही वडामा निर्माणको अन्तिम चरणमा पुगेको छ।
गाउँमै सुविधा सम्पन्न अस्पताल
गाउँपालिकामा एउटा व्यवस्थित अस्पताल नहुँदा स्थानीयवासीले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपर्थ्यो । गाउँपालिकाले चार वर्षपछि इन्द्रावती गाउँपालिका–४ कै नवलपुर बजारमा १५ शय्याको अस्पताल निर्माण गरेपछि यो समस्या समाधान भएकाले स्थानीयवासी उत्साहित भएका छन् ।
अस्पताल निर्माण पछि एक्सरे, रगत तथा स्वास्थ्य परीक्षण र औषधि खरिदका लागि चौतारा धाउनुपर्ने बाध्यता अन्त भएको छ । पाँच करोड ५१ लाखको लगानीमा न्यु ड्रागइन पवित्र मल्टिपल डेभिड कम्पनीले तीन रोपनी जमिनमा बनाएको अस्पतालमा ३५ कोठा र १५ बेड छ ।
आकर्षक गाउँपालिका भवन
गाउँपालिकाले आकर्षक गाउँपालिका भवन बनाएको छ । सबैजसो पालिकाको भवन सामान्य या आधुनिक शैलीमा निर्माण गरिए पनि यहाँ भने पुरातात्त्विक प्या गोडा शैलीमा भवन बनाइएको हो । सुनकोसी अर्थात् थकाह्युल्साको किराँतकालीन राज्यको इतिहास भएकाले पालिकाको भवन बनाउँदा पुरानै शैली अपनाइएको गाँउपालीकाका प्रमुख इन्जिनियर राजाराम घोरसैनीले बताए ।
छ करोड ५१ लाखको लागतमा बनेको सो भवन स्वराज–टक्सार जेभीले १८ महिनामा निर्माण गरेको र भवनमा प्रविधिमैत्री कक्ष, हेल्प डेस्क, बैठक कक्ष र पदाधिकारीका लागि छुट्टाछुट्टै कार्यकक्ष छन् । जिल्लामा तीन वटा नगर र नौ वटा गाउँपालिका छन् । हालसम्म इन्द्रावतीसहित मेलम्ची, बाह्रबिसे र चौतारा साँगाचोकगढी नगरपालिका तथा लिशङ्खुपाखर, पाँच पोखरी थाङपाल, जुगल गाउँपालिकाले कार्यालय भवन निर्माण भइसकेका छन् । भोटेकोसी, बलेफी, त्रिपुरा सुन्दरी, हेलम्बु गाउँपालिकाले भने केन्द्र निश्चित गरेर भवन बनाउँदै छन्
प्रत्येक घरमा खानेपानी पुर्याइने
गाउँपालिकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान हुने भएको छ । पालिकाको वडा नं ४ देखि १२ सम्मका सबै बस्तीलाई समेटेर खानेपानी वितरण गर्न इन्द्रावती बृहत् खानेपानी आयोजना सुरु भएपश्चात् खानेपानीको समस्या समाधान हुने भएको हो ।
उक्त आयोजनाका लागि हेटौँडास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बोलपत्र आह्वान गरेर काम सुरु गरेको छ । सो आयोजना २० करोडभन्दा माथिको लगानीमा निर्माण थालिएको हो । उक्त आयोजनाबाट १३ हजारभन्दा बढी जनता लाभान्वित हुने र तोकिएको समयावधि अघि नै काम सम्पन्न हुने इन्जिनियर घोरसैनीले बताए ।
वडा नम्बर १ मा मुहान रहेको खानेपानी आफ्नो गाउँसम्म आउने भएपछि स्थानीयवासी खुसी भएका वडा नम्बर ५ निवासी सुनिल भट्टराईले बताए ।
भृकुटी पार्क
गाउँपालिकामा भूकम्प स्मारक भृकुटी शान्ति पार्क निर्माण गर्न लागिएको छ । गाउँपालिकाका अध्यक्ष तामाङले उक्त पार्क शिलान्यासका अवसरमा यस गाउँपालिकालाई ऐतिहासिक रूपमा चिनाउनु नै गाउँपालिकाको पहिचान भएको बताए । यस्ता संरचना निर्माणले भावी पुस्तालाई अध्ययन, अनुसन्धान गर्ने ठाउँको रूपमा चिनाउन सकिने उनको भनाइ थियो ।
गाउँपालिकाले अघि सारेको योजनामा उपलब्ध स्रोतलाई मध्यनजर गर्दै काम भइरहेको पनि अध्यक्ष तामाङले जानकारी दिए । पर्यटकीय स्थलअन्तर्गत पार्क बनाउन लागिएको र थामन ह्युल्साको रूपमा चिनिएको ठाउँलाई अब भृकुटी पार्कको रूपमा चिनाउने उनको भनाइ थियो ।
राष्ट्रिय विभूति भृकुटीको विवाहमा यही बाटो प्रयोग गरेको किंवदन्ती रहेको र हालसम्म प्राप्त अभिलेखको आधारमा पनि भृकुटी पार्क निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा सो पार्क निर्माण गर्न लागिएको हो । गाउँपालिकाको १० औँ गाउँ सभाले सिपाघाट, ज्यामीरेमाने, नवलपुर ओखरेनी सडक मार्गलाई भृकुटी मार्ग नामकरण गरेको छ ।
भूकम्प स्मारक निर्माण
गाउँपालिकाको नवलपुरमा २०७२ सालको भूकम्पमा परी मृत्यु भएका गाउँवासीको सम्झनामा भूकम्प स्मृति पार्क निर्माण गरिएको छ ।
अध्यक्ष तामाङका अनुसार भूकम्पमा परी मृत्यु भएका गाउँ बासीको नाम सो पार्कमा लेखिने छ । त्यस बखत भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए । भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए ।
सबै वडा कार्यालयको आफ्नै भवन
प्रत्येक वडाको आफ्नै कार्यालय भवन बनाइएको छ । खेल क्षेत्रबाट गाउँपालिकालाई चिनाउन रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको छ । पालिकाभित्र एक वडा एक खेल मैदानसमेत बनेको छ । विद्यालय र अस्पतालका लागी आवश्यक जनशक्ति व्यवस्था गरिएको छ ।
कृषिमा अनुदान र दूध बेच्ने किसानलाई गाउँपालिकाले अनुदानसमेत दिने भएको छ । स्मार्ट पालिका बनाउनका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिएको पालिकाका सूचना अधिकारी मनोज दङ्गालले बताए ।
गाउँपालिकाको सडक र वडा नं १०को सडक कालोपत्रे गरिएको छ । त्यस्तै गाउँपालिका वरिपरिको एक किलोमिटर सडकसमेत कालोपत्रे गर्न लागिएको इन्जिनियर घोरसैनीले जानकारी दिए ।