इन्जिनियरको चुनावमा काँग्रेस निकट सिडेन जित नजिक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

इन्जिनियरको चुनावमा काँग्रेस निकट सिडेन जित नजिक


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ। नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा सत्तारुढ नेपाली काँग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) जित नजिक पुगेको छ ।

मतगणना जारी रहँदा सिडेनले सबै पदाधिकारीमा अग्रता लिएको छ। कुल ९०७७ मत गणना गरिसक्दा अध्यक्षमा सिडेनका हरिबहादुर दर्लामीले ३६६९ मतसहित अग्रता लिएका छन् । २१ हजार मतदाता रहेकोमा १० हजार १९३ मत मात्रै खसेको थियो।

दोस्रो स्थानमा नेकपा (एमाले) निकट इन्जिनियरको संस्थाबाट अध्यक्षमा उठेका सुरज लामिछाने छन् । उनले उनले २७५९ मत ल्याएका छन् । यो दर्लामीको भन्दा ९१० मत कम हो ।

त्यस्तै महासचिवमा पनि सिडेनकै अग्रता छ । रविभूषण झाले ३७५८ मत ल्याएर अग्रता लिईरहका छन् । दोस्रोमा एमाले निकट इन्जिनियरको संस्थाबाट भेषराज थापाले २४५१ मत ल्याएका छन्, जुन झाको भन्दा १३०७ ले कम हो ।

सिडेनबाट महासचिवका उम्मेदवार झाले मत गणना अन्तिमतिर गएको र सबै पदमा आफूहरूको सुविधाजनक अग्रता भएकाले जित निश्चित भएको बताए । ‘गणना भएकामध्ये सबै प्रदेशमा हामीले जित्यौँ’ उनले भने, ‘केन्द्रमा पनि हाम्रो जित निश्चित भइसकेको छ ।’

प्रदेशतर्फ पनि सिडेनले नै जित हासिल गरेको छ । अहिलेसम्म ७ मध्य ५ प्रदेशको नजिता आइसकेकोमा सबैमा सिडेनले जितेको छ।

प्रदेश १ मा जयनाथ यादव, गण्डकी विजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्र श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा पदमराज पन्त अध्यक्षमा निर्वाचित भएका छन् ।

मधेस प्रदेशमा १ हजार मतदाता रहेकोमा समाचार तयार हुँदासम्म २५ मत मात्रै गणना भएको छ। केन्द्रको नतिजा छिटो सार्वजनिक गर्न मधेस प्रदेशको गणना तीव्र पारिएको उनको भनाइ छ ।

मधेस र बागमती प्रदेशमा भने मतगणना जारी छ । बागमतीमा गणना लगभग सकिन लागेको र मधेस प्रदेशमा केही विवादबिच ढिला गणना सुरु भएको झाले जानकारी दिए । दुवै प्रदेशको नतिजा आएपछि केन्द्रको परिणाम घोषणा गरिने छ ।

काङ्ग्रेसबाटै चुनावमा दुई प्यानल छन् । काँग्रेस निकटकै इन्जिनियरहरूले दिलीपकुमार झाको नेतृत्वमा अर्को प्यानल बनाएर प्रतिस्पर्धामा छन्। तर, काँग्रेसले भने दर्लामीकै प्यानललाई आधिकारिक मान्यता दिएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी निकटको अर्को प्यानल छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी निकट प्यानल पनि चुनावी प्रतिस्पर्धामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस