नागरिक बचतपत्रमा आवेदन खुल्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नागरिक बचतपत्रमा आवेदन खुल्यो


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विदेशमा रहेका नेपालीले समेत खरिद गर्न पाउने व्यवस्था सहित नागरिक बचतपत्रको बिक्री आज (मंगलबार)देखि खुला गरेको छ ।

नागरिक बचतपत्रको आवेदन अनलाइनमार्फत गर्न सकिने व्यवस्था भएसँगै विदेशमा रहेका नागरिकले पनि उक्त बचतपत्र खरिद गर्न सक्ने भएका हुन् ।

यसअघि आवश्यक कागजातसहित भौतिक रूपमा सम्बन्धित व्यक्ति बैङ्कमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले विदेशमा बस्ने नेपाली नागरिक बचतपत्र किन्नबाट वञ्चित थिए ।

आज (चैत १ देखि) आवेदन सङ्कलन सुरु गरिएको नागरिक बचतपत्रमा चैत २० सम्म आवेदन दिन सकिन्छ । यद्यपि तोकिएको अवधिअघि नै कुल निष्कासित रकमका लागि आवेदन आए चैत २० अघि नै बन्द हुने राष्ट्र बैङ्कले बताएको छ ।

पहिलो चरणमा २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि आवेदन सङ्कलन सुरु गरिएको राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

यो बचतपत्र खरिद गर्न व्यक्ति नेपालभित्रै रहनुपर्ने र आवश्यक कागजात भौतिक रुपमै बुझाउनुपर्ने अवस्था अब छैन,’ राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले भने, ‘राष्ट्र बैङ्कको वेबसाइटमा गएर स्वदेश–विदेश जहाँ भए पनि आफूलाई पायक पर्ने समयमा फारम भरेर बचतपत्र किन्न सकिन्छ ।’ यस्तो व्यवस्थाले स्वदेशमा रहेर पनि भौतिक रुपमा उपस्थित हुन नसक्ने र विदेशमा रहेका नेपाली नागरिकले भरपुर लाभ लिन सक्ने उनको दाबी छ ।

‘नागरिक बचतपत्र २०८३ क’ नाम दिइएको उक्त बचतपत्रमा घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमभन्दा नबढाई १० हजार रुपैयाँले भाग निःशेष जाने रकम लगानी गर्न सकिने सूचनामा उल्लेख छ । चैत ३० गते बचतपत्र निष्कासन गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

बचतपत्र परिपक्व हुने अवधि ५ वर्षको हुन्छ । यसमा लगानी गरेपछि वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । ब्याज हरेक ६/६ महिनामा पाइन्छ । प्राप्त ब्याजमा ५ प्रतिशत लाभकर लाग्छ । आवश्यक परेका बेला बिक्री गर्न र बैङ्क तथा वित्तीय संस्थामा यो बचतपत्र धितो राखेर कर्जा लिन पनि सकिन्छ । उल्लिखित कारणले केही लामो समयसम्मका लागि लगानीका क्षेत्र खोजिरहेका नेपालीका लागि नागरिक बचतपत्र उपयुक्त औजार रहेको राष्ट्र बैङ्कको भनाइ छ ।

राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्थाको घोषणा गरेको थियो ।

सोहीअनुसार मुद्रा व्यवस्थापन विभागले आवश्यक प्राविधिक व्यवस्था मिलाएको हो । तर बचतपत्र डिम्याट भई नसकेकाले प्रमाणपत्र लिन भने बैङ्कमै पुग्नुपर्नेछ । राष्ट्र बैङ्कले चौथो त्रैमासको सुरुमै अनलाइनमार्फत नै वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गर्ने तालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस