नेकपा गठन भएसँगै षडयन्त्र सुरु भयो : दाहाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा गठन भएसँगै षडयन्त्र सुरु भयो : दाहाल


३० फाल्गुन २०७८, सोमबार


गोदावरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र सुरु भएको बताएका छन् ।

धनगढीमा आज आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले नेकपा (एमाले)सँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशी विदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताए ।

उनले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षडयन्त्र भएको बताउँदै केपी ओलीले ठुलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको जिकिर गरे । उनले भने, ‘विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’ लाखौँको सङ्ख्यामा जनता आँधी हुरी जस्तै ओइरिएपछि देशी विदेशी सेटिङ असफल भएको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले माओवादी केन्द्रको निर्णायक भूमिकाले प्रतिगमन परास्त भएको बताउँदै दोस्रो पटकसमेत प्रतिगमनकारीले संविधानमाथि प्रहार गरेर संसद् विघटन भएकाले आफूले गठबन्धन निर्माणको पहल गरेको बताए ।

निर्वाचनमा एमालेसँग गठबन्धन गरेसँगै पार्टी एकता गरिएको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउन लड्दालड्दै विभाजित हुन पुगेको बताए । पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो उनले भने, ‘तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो ।’

अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताए । उनले एमसीसी जस्ताको त्यस्तै पारित नगरी संशोधन गरेर पारित गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस