नेपालका कम्युनिस्ट अमेरिकी साम्राज्यवादीका दलाली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपालका कम्युनिस्ट अमेरिकी साम्राज्यवादीका दलाली


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेता मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालका कम्युनिस्ट पार्टी अमेरिकी साम्राज्यवादीका दलाली बनेको आरोप लगाएको छ।

२५ देखि २९ फागुनसम्म चलेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरू अमेरिकी साम्राज्यवादको चरम दलाली बनेको आरोप लगाएको छ।

बैठकको निर्णय सार्वजनिक गर्न सोमबार महासचिव किरणले जारी गरेको विज्ञप्तिमा कम्युनिस्ट पार्टीको भण्डाफोर गर्ने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमालेलगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्न अति जरुरी भएको छ।’

यस्तै क्रान्तिकारी माओवादीले युक्रेनको स्वाधीनतामाथि गम्भीर खतरा पैदा भएको जनाएको छ। अमेरिका र रुसको अन्तर्विरोधले युक्रेनमा अहिलेको अवस्था आएको बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

क्रान्तिकारी माओवादीले भनेको छ, ‘युक्रेनको यो अवस्था हुनु अमेरिकी साम्राज्यवाद र रुसी साम्राज्यवादका बिचको अन्तर्विरोधको परिणाम हो। अमेरिकाले नेटो सदस्य देशहरूको साथमा आउन युक्रेनलाई उक्साउँदै आएको थियो भने रुसले युक्रेन नेटोको सदस्य भएको देख्न चाहँदैनथ्यो। अन्त्यमा जब युक्रेनले नेटोमा जाने इच्छा जाहेर गर्‍यो, त्यो रुसका लागि सह्य भएन । यस परिघटनामा दीर्घकालीन दृटिले हेर्दा अमेरिकी साम्राज्यवाद नै मुख्य दोषी देखिन्छ भने तत्कालीन दृष्टिले यसरी एक स्वतन्त्र मुलुक युक्रेनमा आक्रमण गर्नुमा रुस नै दोषी देखिन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस