बागमती प्रदेशसभा बैठक आज, एमालेले संसद् चल्न नदिए हिउँदे अधिवेशन अन्त्य गर्ने योजना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बागमती प्रदेशसभा बैठक आज, एमालेले संसद् चल्न नदिए हिउँदे अधिवेशन अन्त्य गर्ने योजना


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । करिब तीन महिनापछि बागमती प्रदेशसभा बैठक आज (आइतबार) बस्दै छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको संसद् बैठक आज (आइतबार) बस्न लागेको हो। प्रदेशसभा बैठक पुस ८ गतेदेखि बस्न सकेको छैन।

करिब तीन महिनापछि बस्न लागेको प्रदेशसभा बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ। बैठकअघि बिहान ११ बजे कार्य परामर्श समितिको बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकको सम्भावित कार्यसूचीमा विषयगत समितिबाट आएका दुई वटा विधेयकहरू पेस गर्ने, महालेखा कार्यालय र मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेस गर्ने, प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने लगायत रहेको छ ।

आज बस्न लागेको संसद् बैठक एमालेले पुनः अवरोध गर्ने आशङ्का गरिएको छ। एमालेले मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्नुपर्ने, आफ्नो सरकारले ल्याएको योजना कटौती फिर्ता हुनुपर्ने, मुख्यमन्त्रीले नेकपा (एकीकृत समाजवादी)को कमिटी गठन भएको ठाउँमा मात्रै बजेट दिने भनी दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने लगायतका माग राखेर संसद् अवरोध गर्दै आएको छ।

एमालेले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गएको पुस ८ गतेको संसद् बैठकमा दिइसकेका भए पनि त्यति बेलाको बैठकमा एमाले नै अनुपस्थित रह्यो। एमालेले आज बस्ने बैठकमा मुख्यमन्त्रीले आफूहरूले माग गरेअनुसार चित्त बुझ्दो जवाफ नदिए पुनः बैठक अवरोध गर्ने जनाएको छ।

एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले मुख्यमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआए संसद् चल्न नसक्ने बताए। निरौलाले मुख्यमन्त्री पाण्डेले सर्वदलीय बैठकमा भनेअनुसार काम नगरेको भन्दै असन्तुष्टि जनाए।

उनले सरकारले संसद् नराखेर आफ्नो ढङ्गले एक्लै अघि बढ्न खोजे आफूहरू अदालत जानेसम्मको चेतावनी दिए। निरौलाले आइतबारको संसद् बैठकमा सरकार कुन ढङ्गले प्रस्तुत हुन्छ भन्ने कुरामा आफूहरूको भूमिका निर्भर रहने पनि बताए।

उता सरकारले एमालेले संसद् बैठक चल्न नदिए हाल चालू अवस्थामा रहेको हिउँदे अधिवेशन नै अन्त्य गर्ने योजना बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस