सात महिनामा मुलुक साढे २ खर्ब घाटामा ,रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत घटयो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सात महिनामा मुलुक साढे २ खर्ब घाटामा ,रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत घटयो


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा मुलुकको भुक्तानी अवस्था करिब साढे २ खर्ब रुपैयाँ घाटामा गएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि माघसम्म भुक्तानी अवस्था अर्थात् शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो । सात महिनामा देशको चालु खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा रहेको थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले कमी आएको छ । साउनदेखि माघसम्म ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स मुलुकमा भित्रिएको छ ।

गत वर्ष यसै अवधिमा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १०२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८५.४ प्रतिशतले घटेको थियो । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७३।१ प्रतिशतले घटेको थियो ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस