सुदूरपश्चिममा जहाज चल्यो, यात्रुलाई सहज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिममा जहाज चल्यो, यात्रुलाई सहज


२७ फाल्गुन २०७८, शुक्रबार


उडान रद्द

काठमाडौँ । सुदूरपश्चिमको बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएका थिए । अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए।

उनले भने, ‘हामीले यहाँका तीन जिल्लामा हप्तामा दुई पटक सोमबार र शुक्रबार नियमित उडान सुरु भएको छ र बाजुरा जिल्लामा यात्रु सङ्ख्याका आधारमा उडान गर्ने गरेका छौँ ।’ निगमले सुदूरपश्चिमका तीन जिल्लामा आफ्नो हवाई उडान सुरु गरेपछि यात्रुलाई पनि सहज हुनुका साथै यात्रु सङ्ख्यामा वृद्धि भएको गेटा विमानस्थल कार्यालयले जनाएको छ ।

यात्रु अभाव तथा जहाजको कमी भएको भन्दै निगमले सुदूरपश्चिममा केही समय पहिलेदेखि आफ्नो उडान सेवा बन्द गरेपछि निजी क्षेत्रका केही कम्पनीले यात्रु सङ्ख्याका आधारमा कहिलेकाहीँ उडान भर्दै आएका थिए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा कालोपत्र गरिएका विमानस्थलमध्ये बैतडीको पाटन विमानस्थलमा भने निगमले अहिलेसम्म पनि आफ्नो हवाई उडान सेवा सञ्चालन गर्न सकेको छैन । नेपाल वायुसेवाले उडान गर्न नसकेका कारण उक्त विमानस्थलमा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी समिट एयरले उडान गर्ने गरेको बताइएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित जहाज सञ्चालनका लागि गृहकार्य सुरु भइरहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘हाललाई सुदूरपश्चिममा साप्ताहिकरुपमा जहाज सञ्चालनका लागि नेपालगन्ज बस्ने गरी वायुसेवाको एउटा जहाज पठाइएको छ भने केही समयभित्र यात्रु सङ्ख्याका आधारमा नियमित उडान गर्ने गरी तयारी हुँदै छ ।’

घर छेवैमा विमानस्थल भए पनि जहाज नआउँदा निकै दुखित भएका सुदूरपश्चिमका नागरिक अहिले नेपाल वायुसेवाले जहाज सञ्चालन गरेपछि यात्रा गर्नका लागि सहज भएको भन्दै निकै खुसी भएका डोटीको दिपायल सिलगढी नगरपालिका–३ का गणेशबहादुर साउँदले बताए ।

उनले भने, ‘विमानस्थल कालोपत्र भएको वर्षौँ भएको थियो तर जहाज नआउँदा दुःख लागेको थियो, अहिले जहाज आउन थाल्यो, यात्रा गर्न सहज भएको छ, हामी पनि खुसी भएका छौँ ।’ दिपायलसहित यहाँका अन्य जिल्लामा रहेका विमानस्थलको थप बिस्तार तथा स्तरोन्नतिका लागि बजेट विनियोजन भई काम सुरु हुने प्रक्रियामा पुगेपछि नागरिकमा झनै खुसीयाली थपिनुका साथै आकस्मिक उपचारका लागि लैजानुपर्ने बिरामीदेखि अन्य नागरिकलाई यात्राका लागि सहज भएको अछामका स्थानीयवासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले बताए ।

उनले भने, ‘विमानस्थलमा जहाज नचल्दा आकस्मिक उपचारका लागि लैजानुपर्ने बिरामीदेखि अन्य नागरिकलाई यात्रा गर्दा निकै समस्या थियो, पैसा हुनेले हेली बुकिङ गर्थ्यो । नहुनेको अकालमै ज्यान जाने गर्दथ्यो, अहिले जहाज सञ्चालनपछि सबैलाई सहज भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस