अनुप पाण्डेले डेढ करोड ठगेको भन्दै प्रहरीमा उजुरी दर्ता « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

अनुप पाण्डेले डेढ करोड ठगेको भन्दै प्रहरीमा उजुरी दर्ता


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनीविरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् ।

घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।

निर्माण व्यवसायी पाण्डेविरुद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो ।

नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत रहेका बस्नेत केही दिन अघि मात्र पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारीसहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए । पटक–पटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि बाध्य भएर कानुनी उपचार खोज्नु परेको उनले बताए ।

मुद्दा दर्ता भएपछि अदालतबाट पक्राउ पुर्जीसमेत लिई सकेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ गर्न उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यसैबिच निर्माण व्यवसायी अनुप पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासनका कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका छन् ।

४ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । पाण्डेविरुद्ध सोनापुर सिमेन्ट उद्योग, व्यवसायी र मजदुरसमेतले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस