आगामी निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

आगामी निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल


२५ फाल्गुन २०७८, बुधबार


दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।

नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा काँग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा काँग्रेसलाई नै फाइदा पुग्ने बताए । उनले भने, ‘हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका हौँ, आगामी निर्वाचनसम्म यसलाई लैजान्छौँ ।’

वरिष्ठ नेता पौडेलले काँग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने बताउँदै काँग्रेस एकजुट भए मात्रै आगामी निर्वाचन जित्न सकिन्छ भने । काँग्रेसलाई जिताउन युवाको महत्त्वपूर्ण भूमिका हुने भएकाले युवाहरू एक हुनुपर्ने उनले बताए । ‘नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्छ’, वरिष्ठ नेता पौडेलले भने, ‘युवा भनेका काँग्रेसको मेरुदण्ड हो, युवाहरू काँग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस