काँग्रेस अधिवेशन: मधेसका चार जिल्लामा आज मतदान, यस्तो छ प्रतिस्पर्धा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस अधिवेशन: मधेसका चार जिल्लामा आज मतदान, यस्तो छ प्रतिस्पर्धा


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । मधेस प्रदेशका चार जिल्लामा आज नेपाली काँग्रेसको नेतृत्व चयन गर्न मतदान हुँदैछ । नेतृत्व चयनमा सहमति नजुटेपछि धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो ।

धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । यस जिल्लामा संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पञ्जियार र डा.शेखर कोइराला पक्षबाट दिनेश प्रसैला यादव प्रतिस्पर्धामा उत्रेका हुन् । तीनै जनाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

उनीहरू तीनै जना प्यानल बनाएरै चुनावी मैदानमा उत्रेपछि प्रचारप्रसारमै ठुलो रकम खर्चेका छन् । स्थानीय नेताहरूका अनुसार निवर्तमान उपसभापति समेत रहेका सन्तोष सभापतिमा मजबुत देखिन्छन् । धनुषा निधिको गृह जिल्ला हो । त्यसैले उनले समर्थन गरेका उम्मेदवार पञ्जियारको स्थिति पनि ठिकै छ ।

अर्का उम्मेदवार दिनेश संविधानसभा सदस्य हुन् । उनले पनि आफ्ना पक्षमा माहोल बनाएका छन् । उनको पक्ष पनि मजबुत देखिएकाले पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याएर विजयी हुने सम्भावना न्यून छ ।

सिरहामा पूर्व सभापति रामचन्द्र यादव र राम सुन्दर चौधरीबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यादव संस्थापन पक्ष र चौधरी संस्थापन इतर पक्षका उम्मेदवार हुन् ।

चौधरी पनि संस्थापन पक्षमै थिए । तर काँग्रेस पूर्व कोषाध्यक्ष सितादेवी यादव चौधरीलाई सभापतिमा अगाडि सारेपछि अहिले संस्थापन पक्षमा विद्रोहको स्थिति बनेको छ । चौधरीको पक्षमा नेता प्रदीप गिरी, पदमनारायण चौधरी, अमीयकुमार यादव खुलेका छन् ।

उम्मेदवार यादव र चौधरी पक्षबिच चरम विवाद रहेकाले अधिवेशनको उद्घाटन अलग–अलग स्थानमा गरिएको थियो । यादव पक्षले गोल बजार र चौधरी पक्षले सिराहा सदरमुकाममा जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम गरेका थिए । तर पछि भएको सहमतिअनुसार आज बिहान ८ बजेदेखि गोल बजारमा मतदान हुनेछ ।

काँग्रेस सिरहाका नेता एवं प्रदेश सांसद नरेश यादवले सदस्यता वितरणमा रामचन्द्र यादवले धाँधली गरेकाले कडा प्रतिस्पर्धा हुने बताए ।

यता सर्लाही र रौतहटमा दुई–दुई उम्मेदवार मात्र उम्मेदवार रहेकाले पहिलो चरणमै परिणाम टुङ्गो लाग्नेछ ।

सर्लाही सभापतिका लागि संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतर पक्षबाट लक्ष्मण राय यादव चुनावी मैदानमा छन् । रौतहट सभापतिका लागि संस्थापन पक्षबाट सुनिल कुमार यादव (जितेन्द्र) र संस्थापन इतर पक्षबाट हृदयनारायण यादव प्रतिस्पर्धामा उत्रेका छन् । सर्लाही र रौतहटमा पनि संस्थापन पक्ष नै मजबुत रहेको नेताहरू बताउँछन् ।

पर्सा सभापतिमा जनार्दन सिंह क्षेत्री र महोत्तरी सभापतिमा नागेश्वरी यादव निर्वाचित भइसकेका छन् । दुवै जना संस्थापन पक्षकै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस