काठमाडौँ। विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरूले पार्टी प्रवेश गराएका हुन् ।
काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमान्डर थिए । उनी त्यसपछिको प्रतिनिधिसभा चुनावमा भने गगन थापाको चुनावी अभियानमा थिए ।
रन्जुले पनि साझा विवेकशील पार्टी छाडेर स्वतन्त्र रहने घोषणा गरिसकेकी छन् । वैद्यको समूह भने अर्को दिन एमाले प्रवेश गर्ने तयारी छ ।
एमाले प्रवेश गर्दै वैद्यले आफूले काम गर्ने नेतृत्व खोजेको र त्यस्तो नेतृत्व तत्कालका लागि नेपालमा केपी ओलीबाट मात्र सम्भव देखेर एमालेमा समाहित हुने निर्णय गरेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार डा. राजन भट्टराईलगायत स्थानीय नेताहरू सहभागी थिए । काठमाडौँ ज्ञानेश्वरका स्थानीय वैद्य उज्ज्वल थापाको अभियानबाट विवेकशील पार्टीमा जोडिएका थिए ।
उनी सो क्षेत्रको जनाधारमा प्रभाव राख्ने नेता हुन् ।