बागमती सरकारद्वारा कार्यकर्ता पोस्न ऐन विपरीत २३ सय टुक्रे योजना वितरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती सरकारद्वारा कार्यकर्ता पोस्न ऐन विपरीत २३ सय टुक्रे योजना वितरण


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । मकवानपुर । बागमती प्रदेश सरकारले कार्यकर्ता पोस्ने र खर्च बढाउने उद्देश्य अनुरूप टुक्रे योजना कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको बजेट खर्च हुने अवस्था नरहेपछि खर्च बढाउन र कार्याकर्ताहरुलाई लक्षित गरेर धमाधम टुक्रे योजना वितरण सुरु गरेको हो ।

प्रदेश सरकारले स्थानीय तहको निर्वाचन नजिकिएसँगै गठबन्धनमा आबद्ध दलका कार्यकर्ता लक्षित गरेर ५ लाख दरका २ हजारभन्दा बढी टुक्रे योजना वितरण गरेको छ ।

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकको सिफारिसमा चालु आर्थिक वर्ष २०७८–०७९ मा सम्पन्न गर्ने गरी २ हजार ३ सय टुक्रे योजनालाई बजेट बाँडफाँट गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । सरकारले संसदबाट बहुमतले पारित गरेको बजेटको पर्याप्त कार्यान्वयन गर्न सकेको छैन ।

बजेटमा समावेश भएका योजना कार्यान्वयन गर्न नसकेको प्रदेश सरकारले एकै पटक ठुलो सङ्ख्यामा साना योजना बनाउनुले कार्यकर्ता पोस्ने तयारी रहेको देखिन्छ । अघिल्लो सरकारका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्दा सरकारलाई अप्ठ्यारोमा पर्ने बुझाइका कारण मुख्यमन्त्री पाण्डेले वैकल्पिक मार्गबाट बजेट स्थानान्तरण गरी नयाँ योजनाहरू वितरण गरेका हुन् ।

सरकारले पूरक बजेट मार्फत बजेटको हेरफेरको तयारी गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण मुख्यमन्त्री पाण्डेको त्यो योजना सफल भने हुन सकेन । उक्त योजना विफल भएपछि फागुन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले ती योजनाहरू पारित गरी उपभोक्ता समितिमार्फत खर्च गर्ने बाटो समातेको छ ।

सोही अनुसार प्रदेश सरकारले अर्थ तथा विविध शीर्षकबाट करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको योजना जिल्लागत रूपमा वितरण गरिएको मन्त्रालयले जनाएको हो । वितरण गरिएको सबै योजना ५ लाख रुपैयाँसम्मका रहेका छन् । मन्त्रिपरिषद्को सिफारिसबाट प्राप्त भएको योजनालाई आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट पनि विनियोजन गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस