युद्ध विराममै रुसी हमला, युक्रेनका राष्ट्रपतिले अमेरिकासँग मागे हतियार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युद्ध विराममै रुसी हमला, युक्रेनका राष्ट्रपतिले अमेरिकासँग मागे हतियार


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरूको भनाइ छ ।

रुसले शनिवार युक्रेनका दक्षिण पूर्वी दुई सहर मारियुपोल र भोनोभाखामा अस्थायी युद्ध विराम घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै रुसले युद्ध रोकेको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । जसका कारण हजारौँ नागरिकलाई सुरक्षित तरिकाले बाहिर निकाल्ने काम प्रभावित भएको छ ।

मारियुपोलका उपमेयर सग्रेइ ओर्भोभले बिबिसीसँग भनेका छन्, ‘रुसी सेनाले आधा घण्टाभन्दा पनि कम समयका लागि हमला रोक्यो र फेरि लगातार बमबारी सुरु गर्‍यो । मानिसहरूलाई बाहिर निकाल्न तयार गरिएको बसहरूमा पनि आक्रमण गरिएको छ ।’

उनले भनेका छन्, ‘रुसी सैनिकले शहरलाई ध्वस्त बनाइरहेका छन् । युक्रेनीहरुलाई मारिरहेका छन् । सडकमा छरिएका लाससमेत हामीले उठाउन पाइरहेका छैनौँ । आक्रमणमा कति जना मारिए भन्नेसमेत जानकारी छैन । यहाँ सकुशल अवस्थाका भौतिक संरचना सायदै होलान् ।’

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज ११ औँ दिन हो । राजधानी किएभको उत्तर पश्चिम क्षेत्रका सहरहरूमा रुसी सेनाले आक्रमण जारी राखेका छन् । इरपिनमा रहेका बिबिसी सम्वाददाताका अनुसार यहाँबाट मानिसहरू अति आवश्यक सामानहरू बोकेर सुरक्षित स्थानमा जाने कोसिस गरिरहेका छन् । बिबिसीका अनुसार इरपिनमा शनिवार रातभर पनि रुसले आक्रमण गरेको छ ।

रुसी सेना राजधानी किएभतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् । उनीहरूसँग युक्रेनी सेना र स्वयंसेवक लडाकुहरूले प्रतिरोध जारी राखेका छन् ।

यसैबिच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनलाई फाइटर जेट दिन र रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

अमेरिकी काँग्रेसका करिब ३०० सदस्यहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै जेलेन्स्कीले उक्त माग राखेको बिबिसीले जनाएको छ । सम्बोधनको क्रममा उनले युक्रेनको आकाशलाई हवाई निषेधित क्षेत्र घोषणा गर्नुपर्ने माग फेरि पनि राखेका थिए ।

जेलेन्स्कीले युक्रेनलाई अतिरिक्त सैन्य सहयोग र मानवीय सहायता आवश्यक रहेकोतर्फ अमेरिकी संसद्को ध्यानाकर्षण गराएका थिए ।

तर अमेरिकी संसदले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउने र युक्रेनमा हवाई प्रतिबन्ध लगाउनुपर्ने माग अस्वीकार गरेको बिबिसीले जनाएको छ । रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अत्यधिक बढ्ने र युक्रेनको आकाशमा हवाई प्रतिबन्ध लगाउँदा युद्ध विस्तार हुने अमेरिकाको भनाइ छ ।

अमेरिकी सिनेटका नेता चक शुमरले युक्रेनका अन्य मागहरू पूरा गर्न अमेरिकी राष्ट्रपति जो बाइडन नेतृत्वको प्रशासनलाई सघाउने बचन दिएको बिबिसीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस