बागमती प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने तयारीमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बागमती प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने तयारीमा


२१ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । सङ्घीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको हो ।

सङ्घीय सरकारले रासायनिक मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै प्रदेश सरकारले उद्योग स्थापनाको विषयलाई अगाडी बढाउने तयारी गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

रासायनिक मल उद्योग स्थापनाका विषयमा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन तथा प्राविधिक परामर्श र छलफल प्रारम्भ गरेको छ । छलफलका क्रममा काठमाडौँ विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याबका संयोजक बिराज सिंह थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा हाइड्रोजनबाट युरिया मल उत्पादन गर्न सहज र कम खर्चिलो हुने उल्लेख गरिएको छ ।

मन्त्रालयले उद्योग स्थापनाका लागि काठमाडौँ विश्वविद्यालयसँग हेटौँडामा आवश्यक प्राविधिक परामर्श समेत गरिसकेको छ । लामो समयदेखि मल उद्योग खोल्ने विषयमा अध्ययन गरिरहेको काठमाडौँ विश्वविद्यालय, धुलिखेलसँग मन्त्रालयले सरोकारवाला पक्षको उपस्थितिमा प्राविधिक परामर्श तथा छलफल भएको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए ।

सचिव पाण्डेका अनुसार मल उद्योगको महत्त्व र आवश्यकता बढिरहेको अवस्थामा उद्योग स्थापनाको मोडल तयार पारेर सञ्चालन गर्न सकिन्छ भनेर मन्त्रालयले गरेको तयारीको हो ।

आगामी दिनको भविष्य हाइड्रोजनमा नै रहेकोले हाइड्रोजन, नाइट्रोजन र कार्बन डाइअक्साइडको प्रयोग गरेर मल उत्पादन गर्न प्राविधिक टोलीले सुझाव दिएका थिए । विद्युत्बाट हाइड्रोजन ग्यास बन्ने भएकाले प्राकृतिक ग्यासबाट भन्दा हाइड्रोजनबाट युरिया बनाउँदा सस्तो हुने र नेपालमा सबैभन्दा बढी हाइड्रोजन बन्न सक्ने अवस्था रहेकाले मल उत्पादनको गर्न सहज हुने उनीहरूको भनाई छ । हाइड्रोजनको प्रयोगबाट मल उत्पादन गरेर विश्व बजारमा निर्यात गर्न सकिने सम्भावना रहेको उनीहरूले भनाई छ ।

मल उद्योग स्थापनाका लागि आवश्यक जग्गा र भौतिक संरचना तथा मोडलसमेत प्रदेश सरकार निर्णय गरिसकेको छ । मल उद्योग स्थापनाको लागि विदेशी कम्पनीले पनि चासो दिएको र त्यसतर्फ प्रदेश सरकार अघि बढेको हो ।

बागमती प्रदेश सरकारको माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा तीन वटा मल कारखाना खोल्ने निर्णय गरिसकेको छ । प्रदेश सरकारले मध्यम स्तरका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ । प्रदेश सरकारले हेटौँडा, चितवन र सिन्धुलीमा मध्यम स्तरको मल उत्पादन कारखाना स्थापना गर्न अध्ययन गर्ने तयारी गरेको छ ।

नेपालमा वार्षिक रूपमा ४० अर्ब रुपैयाँ बराबरको युरिया मल आयात हुने गरेको छ । प्रदेश सरकारले मल उद्योग खोल्छ वा अध्ययन अनुसन्धानमै सरकारको बजेट सकिन्छ भन्नेमा बारे अन्यौलता भने कायम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस