अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता


२१ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । म्याग्दी सदरमुकाम बेनीमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ । बेनी नगरपालिका–८ स्थित पुरानो काली पुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोग चलन गर्दै आएका सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो ।

काली गण्डकी नदी किनारमा नगरपालिकाले उद्यान निर्माण गर्न लागेको जग्गा नै अतिक्रमण भएको पाइएपछि शुक्रवार वडा कार्यालयले नापी कार्यालयका प्राविधिक टोली खटाएर त्यहाँका सार्वजनिक जग्गाको अनुगमन गरेको थियो ।

उक्त जग्गा नापी कार्यालयका प्रविधिको सहयोगमा सार्वजनिक छुटाइएको नगरपालिका प्रवक्ता एवम् वडानम्वर ८ का अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए । साधँसिमनामा रहेका छ जनाले सार्वजनिक जग्गा ओगटेको भेटिएको उनको भनाइ थियो । सार्वजनिक जग्गा अतिक्रमण गरेका घरधनीलाई पत्र काटेर र जानकारी गराएर फिर्ता गर्न ताकेता गरिएको वडा कार्यालयले जनाएको छ ।

नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बाल उद्यान र बगैँचासँगै काली पुल बसर्पाकमा पुग्ने पैदलर्माग बनाउने योजना रहेको वडा अध्यक्ष बराइलीले जानकारी दिए ।

‘‘यस आर्थिक वर्षमा नगरपालिकाबाट विनियोजन गरिएको रु ४ लाखबाट सार्वजनिक जग्गा घेराबार गर्नेछौँ, जग्गा संरक्षणसँगै थप बजेटको व्यवस्था गरेर बाल उद्यान निर्माण गर्ने योजना छ,’’ उनले भने । सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दो छ । अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउन नगरपालिकाले चासो देखाए पनि राजनैतिक संरक्षणको आडमा अतिक्रमण गरेका व्यक्तिहरूले अटेरी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस