नोबेल मेडिकल कलेजका १० जना विद्यार्थी पुन: आन्दोलनमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नोबेल मेडिकल कलेजका १० जना विद्यार्थी पुन: आन्दोलनमा


१९ फाल्गुन २०७८, बिहिबार


विराटनगर । नोबेल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षका १० विद्यार्थी पुन: आन्दोलनमा उत्रिएका छन् ।

कलेज स्थानान्तरणको माग सम्बोधन नभएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बताएका छन् । बिहीबार विद्यार्थीहरूले माइतीघरमा रिले अनसन गरे।

आन्दोलनरत विद्यार्थीले भने, ‘नोबेलमा जान हामीलाई थ्रेट छ । स्थानान्तरणको माग सम्बोधन नभएपछि पुनस् आन्दोलनमा छौं ।’

नोबेल मेडिकल कलेज प्रशासनले लिने अतिरिक्त शुल्कको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । अंशिक माग सम्बोधन भएपछि १० जनाबाहेक अन्य विद्यार्थी नियमित कक्षामा सहभागी छन् । आन्दोलनको अगुवाइ गरेका १० जना विद्यार्थी सुरक्षा थ्रेट रहेको भन्दै स्थानान्तरणको पक्षमा छन् ।

माघ ७ गते एमबिबिएस प्रथम वर्षका १४ विद्यार्थीले कलेज स्थानान्तरणका लागि शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । ती मध्ये चारजना कक्षामा फर्किएका छन् । १० जनाले भने विराटनगर आउँदा जोखिम हुने भएकाले आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत विद्यार्थीले भने, ‘अग्रपंतिमा बसेर आन्दोलन गरेका विद्यार्थीमाथि कलेज प्रशासनबाट थ्रेट छ । विराटनगरमा जोखिम मोलेर पढ्न सक्दैनौं ।’ ‘शिक्षा मन्त्रीले अहिले भेट दिनुहुन्न । पढाइ छुटेको धेरै भयो, सरकारले हाम्रो कुरा सुनेन्,’ उनीहरूले भने ।

गत पुस पहिलो साताबाट एमबिबिएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ । स्थानान्तरण नहुँदा आफ्नो पढाइ विग्रिएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस