चितवनमा नयाँ प्रजातिको चरा फेला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चितवनमा नयाँ प्रजातिको चरा फेला


१४ फाल्गुन २०७८, शनिबार


चितवन । जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रस्थित शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो ।

नेपाल पक्षी विद् सङ्घ बागमतीका संयोजक वासु विडारीका अनुसार हिमाली क्षेत्रमा पाइने यो चरा चितवनमा पहिलो पटक भेटिएको हो ।

हिमाली क्षेत्रमा चिसो बढेको र खानाको अभाव भएपछि यहाँ झरेको हुनसक्ने संयोजक विडारीको भनाइ छ । वर्ड एजुकेसन सोसाइटी चितवनका पूर्व अध्यक्षसमेत रहेका विडारीका अनुसार फोटोग्राफर चूडामणि चौधरी र प्रेम बमजनले तस्बिर खिचेर ल्याएपछि विज्ञ टोलीले हेरेर पहिचान गरिएको हो ।

यो चरा समुन्द्री सतहबाट दुई हजार ४४० देखि तीन हजार ५० मिटर उचाइमा पाइने गर्दछ । अनुगमनका क्रममा एक जोडी सल्ने बगेडी फेला परेको वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिए ।

नेपालमा १५ प्रजातिको बगेडी पाइने गरेकामा योसमेत चितवनमा मात्र १० प्रजातिको बगेडी पुगेको छ । लजालु स्वभावको यो चरा घाँसे मैदान र खेतबारीको वरिपरि पाइने गर्दछ ।

खास गरी यो चरा युरोपेली देशमा पाइने र नेपाललगायत एसियाको चीन, अफगानिस्तानमा पनि पाइने गरेको छ । यो नयाँ प्रजातिको बगेडी फेला परेपछि जिल्लामा ६५९ प्रजाति चरा पुगेको चौधरीले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र चराका लागि उपयुक्त वासस्थान मानिन्छ । यहाँ वन्यजन्तुसँगै चरा अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस