भीमदत्तलाई बाह्रसिङ्गाको नगरका रूपमा चिनाउने अभियान सञ्चालन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भीमदत्तलाई बाह्रसिङ्गाको नगरका रूपमा चिनाउने अभियान सञ्चालन


१४ फाल्गुन २०७८, शनिबार


कञ्चनपुर । भीमदत्त नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रूपमा चिनाउनका लागि अभियान सञ्चालन गरिएको छ ।

पर्यटक आकर्षित गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिङ्गालाई चिनाउनका लागि नगरपालिकाले अभियान सञ्चालन गरेको हो ।

नगरपालिकाले बाह्रसिङ्गालाई ब्रान्ड बनाउने घोषणा गरेको छ । ‘बाह्रसिङ्गालाई नगरको ब्रान्डका रूपमा घोषणा गरेका छौँ’, नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘बाह्रसिङ्गाको प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्छौँ । बाह्रसिङ्गाको लोगो तथा पोस्टर कार्यालय, चोक चौराहमा राखेर प्रचार प्रसारकलाई व्यापक बनाउँछौँ ।’

नगरपालिकामा राखिने सबै प्रकाशनमा बाह्रसिङ्गाको लोगो राखिने उनले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै ठुलो बाह्रसिङ्गाको झुन्ड देख्न पाइन्छ । बाह्रसिङ्गामार्फत शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ ।

नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रचुर सम्भावनाको धनी रहेकाले त्यसको प्रवर्द्धन कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए । आव ०७८÷७९ को नीति तथा कार्यक्रममा समेत नगरपालिकालाई बाह्रसिङ्गाको नगरका रूपमा परिचित गराउने कार्यक्रम समावेश गरिएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले भीमदत्त नगरपालिकाले बाह्रसिङ्गालाई ब्रान्डका रूपमा प्रयोग गर्ने कार्यसँगै नगरलाई बाह्रसिङ्गा नगर घोषणा गर्ने कार्य निकै सराहनीय रहेको बताए । यस कार्यले निकुञ्जको प्राय–पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र बाह्रसिङ्गाको प्रचारप्रसारमा सघाउ पुग्ने उनको विश्वास छ ।

ठुलो झुन्डमा निकुञ्जका फाँटमा चर्दै गरेका बाह्रसिङ्गा एकसाथ हेर्न सकिन्छ । बाह्रसिङ्गा हेर्नकै लागि टाढा टाढाबाट पर्यटक यस क्षेत्रमा पुग्ने गर्दछन् । निकुञ्ज बाह्रसिङ्गाका लागि दक्षिण एसियामै प्रसिद्ध छ ।

लहरै चर्न लागेका बाह्रसिङ्गा हेर्नका लागि शुक्लाफाँटा पर्यटक पुग्ने गर्दछन् । निकुञ्जमा सन् २०१२ मा गरिएको गणनामा बाह्रसिङ्गाको सङ्ख्या दुई हजार १७० रहेको थियो । सुरक्षित वासस्थान र चरनको पर्याप्त क्षेत्र भएकाले त्यो सङ्ख्या अहिले बढेको अनुमान छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा सिकार आरक्षका रूपमा स्थापना भई विसं २०३२ मा १५५ वर्ग किमी क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षका रूपमा घोषणा गरिएको हो । विसं २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किमी क्षेत्रफललाई विस्तार गरी आरक्षको क्षेत्रफललाई ३०५ वर्ग किमी बनाइएको थियो ।

विसं २०७३ फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरिएको हो । निकुञ्ज १७४ मिटरदेखि १३८६ मिटरको उचाइमा पर्छ । यो निकुञ्ज अन्य दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागिसमेत प्रसिद्ध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस