काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताएका छन् ।
शनिवार सुर्खेतको वीरेन्द्रनगरमा उनले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् ।
‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैँ चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठ्छु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ’ सुर्खेत विमान स्थलमा पत्रकारहरूसँग बादलले भने ।
नेता बादलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफ्नो दलले प्रस्ट धारणा बनाइ नसकेको बताए । एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई समाधामुखले मान्यता नदिएसम्म आफूहरू संसदीय काम कारबाहीमा सहभागी नहुने उनको भनाइ छ ।
सो माग पूरा भएपछि मात्र पार्टीले एमसीसीबारेमा ठोस र आधिकारिक धारणा बनाउने बादलले बताए । ‘सभामुखले सूचना टाँस गर्नुभएको छैन, त्यसैले उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्छ’ उनले भने । सत्तारुढ नेपाली काँग्रेससँग सहकार्य गर्ने कुनै पनि सहमति नभएको पनि बादलले बताए ।
एमाले कर्णाली प्रदेशमा आयोजना गरेको निर्वाचन सम्बन्ध अभिमुखीकरण कार्यक्रममा सहभागी हुन उपाध्यक्ष बादल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता विष्णु रिजाल, नीरज आचार्यलगायत नेताहरू सुर्खेत पुगेका छन् ।