वातावरण हक कार्यान्वयन गर्न आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वातावरण हक कार्यान्वयन गर्न आदेश


१३ फाल्गुन २०७८, शुक्रबार


झापा । उच्च अदालत विराटनगर, इलाम इजलासले पहिलो पटक नागरिकको वातावरणसम्बन्धी हकको कार्यान्वयनका लागि ऐतिहासिक फैसला गरेको छ ।

न्यायाधीश द्वय प्रेमराज कार्की र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासबाट वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय प्रदेश नंं १ विराटनगर, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाको नाममा परमादेश जारी गर्दै बिहीबार सो फैसला भएको हो ।

मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईँले जथाभाबी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीन स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित २०७७ फागुन १७ गते इलाम इजलासमा रिट दर्ता गरेका थिए ।

सोही रिटको इजलासले फैसला गर्दै परमादेश जारी गरेका संस्थाले फोहोरमैला व्यवस्थापनसम्बन्धी गरेका कामको प्रगति प्रतिवेदन तीन–तीन महिनामा अदालतमा बुझाउनुपर्ने फैसलामा उल्लेख गरिएको अधिवक्ता हेमकला कट्टेलले जानकारी दिए । उनले भने, ‘वातावरणको क्षेत्रमा उच्च अदालतबाट भएको यो ऐतिहासिक र पहिलो फैसला हो ।’

फोहोरमैला व्यवस्था ऐन, २०६८ तथा अन्य कानुनी प्रावधानलाई तत्काल कार्यान्वयन गरी आ–आफ्नो क्षेत्रको वातावरणलाई सदैव स्वच्छ र स्वास्थ्य कायम गराउन फोहोरमैला व्यवस्थापनका लागि ठाउँ खोजी गरी कार्यान्वयनमा ल्याउने, कुहिने तथा नकुहिने फोहोरलाई छुट्याई दुर्गन्धित हुन नदिई उचित व्यवस्थापन गर्ने अदालतले परमादेश जारी गरेको छ ।

जारी आदेशमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र यातायात व्यवसायीलाई फोहोरमैला व्यवस्थापन गर्न जिम्मेवार बनाई परिचालन गर्नुपर्ने, दैनिकरुपमा प्रयोगमा आउने प्लास्टिकका झोला तथा प्लास्टिकजन्य वस्तुको व्यवस्थित प्रयोगका लागि आवश्यक कार्ययोजना बनाउन र आवश्यकताअनुसार फोहोर सङ्कलनका लागि कानुनको परिधिभित्र रही शुल्क निर्धारण गर्नसमेत उल्लेख गरिएको छ ।

रिट निवेदकको तर्फबाट अधिवक्ता त्रय हिरण्यप्रसाद अधिकारी, खगराज कट्टेल र हेमकला कट्टेललेले नगरपालिकाको तर्फबाट अधिवक्ता त्रय अशोक क्षेत्री, उत्तम पौडेल र दीपेन्द्र भट्टराईले बहस पैरवी गरेका थिए । स्थानीय तहरुले फोहोरमैला व्यवस्थापनमा देखाएको उदासीनताका कारण अदालतमा मुद्दा परेको थियो ।

झापाका पुराना र ठुला भनिएका भद्रपुर, विर्तामोड र मेचीनगर नगरपालिकाले अझै फोहर व्यवस्थापनका लागि ठाउँको व्यवस्था गर्न नसक्दा फोहोरमैला राजमार्ग किनारमा थुपार्ने, नदीमा विसर्जन गर्ने, डढाउनेलगायत कार्य गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस