लुम्बिनी प्रदेशकी कृषिमन्त्री रायमाझी पदमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशकी कृषिमन्त्री रायमाझी पदमुक्त


११ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसदबाट पदमुक्त भएकी छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको तारिख गुजारेका कारण उनलाई पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्क्रिय भएको हो । अब उनी बढीमा ६ महिनासम्म मात्रै मन्त्री पदमा बहाल हुन पाउँछिन् ।

रायमाझीसहित सन्तोषकुमार पाण्डेय, विजय यादव र कल्पना पाण्डेलाई जनता समाजवादी पार्टी (जसपा)ले दल त्यागको कारबाही गर्दै पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र पठाएको थियो । सभामुखले सूचना टाँसेर पदमुक्त गरेको जानकारी पनि गराए । त्यस विरुद्ध प्रदेश सांसद रायमाझी लगायतले सर्वोच्च अदालतमा मुद्दा हाले ।

सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत पद त्यागको कारबाही रोकेको थियो । सांसदहरूमाथि कारबाही गर्दा प्रक्रिया पूरा गरेको नदेखिएको भन्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले उनीहरूलाई सांसद पदबाट निष्कासित गर्ने भनी प्रदेश सभामुखले १६ वैशाख २०७८ मा गरेको निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो ।

अन्तरिम आदेशमार्फत सांसद पद ब्युँतिएपछि सांसद रायमाझी जनता समाजवादी दलमा क्रियाशील भइन् । तर सर्वोच्च अदालतमा नियमित रूपमा लिनुपर्ने तारिख उनले टुटाइन् । सर्वोच्च अदालतको अभिलेख अनुसार उनले १७ भदौ २०७८ को तारिख टुटाएकी थिइन् । त्यसपछि थाम्ने काम पनि नगरेको भन्दै मुद्दा नै तामेलीमा पठाउने आदेश दियो । मुद्दा तामेलीमा पठाउनु भनेको खारेज हुनु सरह हो ।

अधिवक्ता बाबुराम दाहालका अनुसार, मुद्दा तामेलीमा गएपछि त्यसअघिको अन्तरिम आदेश समेत निष्प्रभावी भएको हो । ‘अब दलले कारबाही फिर्ता लिए पनि सभामुखले सूचना टाँसेर दल त्याग गरेको भनी जारी गरेको सूचना खारेज हुँदैन’ अधिवक्ता दाहालले भने, ‘सांसद पद रिक्त नै हुने देखिन्छ ।’

उनीहरूलाई जनता समाजवादी दलको उपेन्द्र–बाबुराम समूहले कारबाही गरेको थियो । चार सांसदलाई पार्टीले स्पष्टीकरण नै नसोधी निष्कासित गर्ने निर्णय गरेको थियो । स्पष्टीकरण नै नसोधी दलबाट निष्कासित गर्ने काम प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने भन्दै सर्वोच्चले उनीहरूलाई निष्कासित गर्ने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । तर अब रायमाझीको हकमा त्यो आदेश निष्प्रभावी बन्न पुगेको हो । अन्यले भने तारिख नगुजारेकाले सांसद पद कायमै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस