सोमालियामा खडेरीका कारण खाद्य सहायताको आवश्यकता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सोमालियामा खडेरीका कारण खाद्य सहायताको आवश्यकता


१० फाल्गुन २०७८, मंगलबार


मोगादिसु । संयुक्त राष्ट्रसङ्घले सोमालियाका करिब ५५ लाख नागरिकका लागि तत्काल खाद्य सहायता उपलब्ध गराउनुपर्ने बताएको छ । यहाँ अहिलेसम्म करिब ५५ लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका र तीमध्ये १४ लाख बढी बालबालिका रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले त्यहाँ विकराल बन्दै गएको र खडेरीका कारण लाखौँ मानिसहरु भोकमरीको गम्भीर अवस्था सामना गर्न बाध्य भएका बताएको छ ।

सोमालियाका लागि राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रतिनिधि आदम अब्देलमौलाले यहाँ अहिले ठुलो सङ्ख्याका मानिस खाद्यान्न अभावको चपेटामा परेका र उनीहरु खासगरी खडेरीका कारण यस्तो अवस्थामा परेका बताउनुभएको छ ।

उनले चरम भोकमरीका कारण त्यहाँका ५ वर्ष मुनिका लाखौँ बालबालिका समेत कुपोषित भएको र तत्काल उपचार नगरे उनीहरुको ज्यानै जान सक्ने बताए ।

त्यसैले राष्ट्रसङ्घले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल गरेको पनि उनले बताएका छन् । ती बालबालिकाका लागि आवश्यक खाद्यान्न र उपचारका लागि पनि तत्कालै सहयोग आवश्यक रहेको जनाइएको छ ।

भोकमरीका कारण त्यहाँका करिब ५ लाख मानिसहरु खानेकुराको खोजीमा अन्य स्थान पलायन भइसकेका छन् । करिब २९ लाख मानिस देशभित्रै विस्थापित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस