स्यालको टोकाइबाट  एकै पालीकाका १२ जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्यालको टोकाइबाट  एकै पालीकाका १२ जना घाइते


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । सर्लाहीको विष्णु गाउँपालिकाका विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ जना घाइते भएका छन् ।  मङ्गलवार बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयलाई टोकेको हो । 

स्यालको टोकाइबाट घाइतेमध्ये ९ जनालाई काठमाडौँको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ । स्यालको टोकाइबाट गहिरो घाउ लागेकाले घाइतेहरूलाई काठमाडौँ पठाइएको प्रादेशिक अस्पताल मलङ्गवाका डा. गौतम झाले जानकारी दिए। 

स्यालले टोक्दा लगाउने ‘इम्युनोग्लोमिन भ्याक्सिन’ काठमाडौँमा मात्र पाइने भएकोले घाइतेलाई काठमाडौँ पठाउनु परेको उनले बताए। भारतीय सीमावर्ती सो विष्णु गाउँपालिकामा मङ्गलवार बिहान अचानक स्याल गाउँ पसेर जथाभाबी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन् ।

स्यालको टोकाइबाट विष्णु –४ मधुवन गोठका ६५ वर्षीय बिलट चौधरी, ७२ वर्षीय शङ्कर चौधरी, ५४ वर्षीय भाग्यनारायण राय, २५ वर्षीय प्रमेश चौधरी, २८ वर्षीया रञ्जना कुमारी साह उनका ५ वर्षीय  छोरा अनमोल साह घाइते भएका छन् ।

त्यस्तै विष्णु –२ बारा उद्योरणका ३५ वर्षीय रामबाबु राय, ५८ वर्षीय रामानन्दप्रसाद यादव,  ५० वर्षीय झरिलाल ठाकुर, ६० वर्षीय महेन्द्र बैठा, ६ वर्षीय सुभाष बैठा र ७० वर्षीय सम्झादेवी झालगायत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
स्यालले पशु चौपायालाई समेत टोकेको स्थानीयवासीले जनाएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस