प्रदर्शनका कारण प्रभावित बनेको सडक खुल्यो « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रदर्शनका कारण प्रभावित बनेको सडक खुल्यो


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक केहीबेर अघि खुलेको छ ।

प्रभावित सडक खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले प्रभावित नयाँ बानेश्वर क्षेत्रको सडक खुलेकाले यातायात सामान्य रुपमा सञ्चालन भइरहेको जानकारी दिए ।

बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधारणले सास्ती बेहोर्नुपरेको थियो ।

सडक प्रभावित हुँदा विद्यालयका विद्यार्थी, कर्मचारी तथा अत्यावश्यक कामले आवतजावत गर्ने जनसाधारणले सहज रुपमा यात्रा गर्न पाएनन् । माइतीघरदेखि तिनकुनेसम्मको सडक अवरोध भएपछि बागमती करिडोर र चक्रपथको बाटो भएर सवारी साधनको अत्याधिक चाप थियो ।

नयाँ बानेश्वरस्थित संसद् भवनको दक्षिण गेट अगाडिपट्टिको सडकमा एमसिसीको विरोधमा प्रदर्शन गरिएपछि उक्त क्षेत्रको यातायात आवागमन दिनभरजसो अस्तव्यस्त भएको थियो ।

प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडपसमेत भएको र दुवैतर्फ केही घाइतेसमेत भएको जनाइएको छ ।

दिउँसो सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै माइतीघर–तीनकुने सडकखण्डमा सवारी आवतजावतमा रोक लगाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस