प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश १ को नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रदेश १ सरकारको चालु अधिवेशनबाट नामको टुङ्गो लगाउने भन्दै उनले फागुन १० गतेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री (हाल स्वास्थ्य मन्त्री) जयराम यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदल मार्फत छलफल आह्वान गरेका हुन् ।

सर्वदलीय बैठक आह्वानको तयारीका लागि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली काँग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी थिए ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतिले प्रदेश १ को नाम प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेको स्वास्थ्य मन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण कार्यदलका प्रमुख यादवले जानकारी दिए । उनका अनुसार, बैठक फागुन १० गते दिनको १२ः१५ बजेका लागि डाकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस