गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान आज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान आज


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ ।

(शुक्रवार)आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरू प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।

१० दिनसम्म प्राविधिक परीक्षण उडान गरेपछि नेपाल वायु सेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । त्यसपछि व्यावसायिक उडानको तयारी सुरु हुने छ । सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलको प्राविधिक परीक्षण गर्न चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली बिहीबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त टोली बिहीबार साँझ नै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । टोलीले विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणको सही ढङ्गले काम गरे–नगरेको जाँच गर्ने छ ।

आन्तरिक उडान मात्र हुँदै आएको भैरहवा विमानस्थललाई नै अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा परिणत गर्ने कामको सुरुआत सन् २०१४ को जनवरीदेखि भएको थियो ।

सन् २०१७ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि भूकम्प, ठेकेदारको ढिलासुस्ती, कोरोना महामारी लगायतका कारण ढिला सम्पन्न भएको हो ।

एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।

Tags :
प्रतिक्रिया दिनुहोस