तनहुँको भानु नगरपालिकाद्वारा विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तनहुँको भानु नगरपालिकाद्वारा विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा


४ फाल्गुन २०७८, बुधबार


दमौली । तनहुँको भानु नगरपालिकाले विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने भएको छ । आर्थिक रुपमा विपन्न नगरवासीलाई नगरपालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सुविधा दिन लागेको हो ।

नगरपालिकाले हालै एम्बुलेन्स खरिद गरी ल्याएको छ । नगरवासीलाई सहज रुपमा स्वास्थ्य संस्थासम्मको पहुँचमा पुर्याउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

भन्सार छुटसहित नौ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको उनले बताए । नगरपालिकाको आफ्नै एम्बुलेन्स नहुँदा नगरवासीले महङ्गो शुल्क तिरेर निजीस्तरबाट सञ्चालित एम्बुलेन्स भाडामा लिनुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले बताए । ‘एम्बुलेन्स शुल्क तिर्न कठिन हुने विपन्न परिवारलाई निःशुल्क सेवा दिन्छौँ’, उनले भने । एम्बुलेन्स व्यवस्थापनका लागि लागि समिति गठन हुने र त्यसलगत्तै एम्बुलेन्सले नगरवासीलाई सेवा दिने उनले भने ।

यसअघि जिल्लाकै घिरिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिकाले पनि एम्बुलेन्स सेवा सुरु गरेको छ । घिरिङ गाउँपालिकाले सुत्केरी महिला र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिनेछ । विपन्न सुत्केरी महिला, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न नागरिक र दुर्घटनामा परेका घाइतेलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने बताइएको छ ।

आँबुखैरेनी गाउँपालिकाले पनि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को महामारीका बेला खड्किएको आवश्यकतालाई महसुस गर्दै एम्बुलेन्स खरिद गरी ल्याइएको गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापाले जानकारी दिए । गाउँपालिकावासीलाई स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता अब हट्ने उनले बताए ।

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई एम्बुलेन्स निःशुल्क दिने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए । उनले अनुसार एम्बुलेन्स सेवाबाट तनहँुका अतिरिक्त गोरखा र चितवनका स्थानीयवासी लाभान्वित हुनेछन् । यो एम्बुलेन्स सरकारी तवरबाट सञ्चालित हो । आँबुखैरेनीमा निजी क्षेत्रबाट थप तीन एम्बुलेन्स सञ्चालनमा रहेको छ ।

‘कोभिड महामारीका बेला सङ्क्रमितलाई स्वास्थ्य संस्थासम्म लैजान कठिनाइ भएको थियो, पुनः महामारीको जोखिम बढ्दो छ’, उनले भने ।

स्थानीय तहले सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट सर्वसाधारणले न्यूनतम मूल्यमा सेवा पाइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस