मन्त्री आलेविरुद्ध षड्यन्त्र हुदैँछ : सचिवालय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री आलेविरुद्ध षड्यन्त्र हुदैँछ : सचिवालय


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी)का  नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटन मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विरोध जनाए । 

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृत रूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीय सचिव रेग्मीले आग्रह गरे ।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तर रूपमा उनी माथि ब्ल्याक मेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो । 

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत सचिवालयले गरेको छ ।

नेता आले समाजवादीमा आबद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनिविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लील शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त  गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस