थानकोटमा विशेषज्ञ सेवा अस्पताल बन्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

थानकोटमा विशेषज्ञ सेवा अस्पताल बन्ने


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ – चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैङ्क रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।

सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैङ्कका प्रतिनिधिका बिचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ । नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

नगरप्रमुख गिरीले भने, “डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ । निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।”

अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भन्ज्याङ, वाड भन्ज्याङ, बलम्बु, महादेवस्थान, तीन थाना, सतङ्गल, माता तीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भन्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्‍याउने छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस