दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनः सञ्चालन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनः सञ्चालन


२ फाल्गुन २०७८, सोमबार


म्याग्दी । गत भदौ महिनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालन भएको छ ।

भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित केन्द्रीय प्रसारण लाइनको विद्युत् र सडक यातायात नपुगेको लुलाङको दरखोलामा आएको बाढीले विद्युत्गृह, बाँध र नहर बगाएपछि ४३ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो ।

गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको २२ लाख सहयोगमा परियोजना मर्मत भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले जानकारी दिए ।

परियोजना मर्मतका लागि प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा पूर्वाधार विकास कार्यक्रमको १२ लाख र धौलागिरि गाउँपालिकाले दश लाख विनियोजन गरेको वडाध्यक्ष गमप्रसाद विकले बताए। परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका उपकरण परिवर्तन भएको छ ।

मुहानमा २५ मिटर कुलो निर्माण र मर्मत गरिएको छ । विद्युत्गृहको नयाँ भवन निर्माण भएको छ । नहर र विद्युत्गृहको उचाइसँगै उत्पादन क्षमता घटेर ३५ किलोवाटमा झरेको छ ।

खोलाको किनारदेखि केही माथि सुरक्षित ठाउँमा विद्युत्गृह निर्माण भएको कारण परियोजनाको उत्पादनसमेत घटेर ३५ किलोवाटमा सीमित भएको समितिले जनाएको छ । सो परियोजनाबाट उत्पादित विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् ।

परियोजना बन्द हुँदा घरायसी काम, विद्यार्थीको पठनपाठन, मोबाइल चार्ज, रेडियो सुन्न र टेलिभिजन हेर्न समस्या भएको थियो । परियोजना सञ्चालन भएपछि कुटानीपिसानी गर्ने मिल, फर्निचर उद्योग र मासु पसललगायतका घरेलु उद्योगलाई सहज भएको स्थानीय भक्त सिंकीजाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस