वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


२७ माघ २०७८, बिहिबार


अख्तियार

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका-५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्लाको तत्कालीन सहोडवा गाविस–१ हाल पिपरा गाउँपालिका–५ का वडाध्यक्ष यादवले स्थानीय सुब्बा पोखरी हक भोग गरेबापत गाविस कार्यालयलाई ठेक्काबापतको बुझाउनुपर्ने रकम नबुझाई आफूलाई गैर कानुनी लाभ पुर्‍याएर बदनियत पूर्वक सार्वजनिक सम्पत्ति नोक्सानी गरेकाले उनी विरुद्ध रु ३५ लाख २१ हजार २०४ माग दाबी लिई विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

साबिकको सहोडवा गाविस–६ मा पर्ने सुब्बा पोखरीको तत्कालीन गाविस कार्यालयले २०७१ साल भदौ १ गतेदेखि २०७६ साल भदौ मसान्तसम्मको ठेक्का बन्दोबस्त हुँदा पोखरी हक भोगको ठेक्का यादवको नाममा स्वीकृत गरेको तर निजले पोखरी हक भोग गरेबापत गाविस कार्यालयलार्ई रकम नबुझाएको भन्ने उजुरी उनी विरुद्ध परेको थियो ।

उक्त उजुरीउपर आयोगले अनुसन्धान गर्दा यादवले २०७३ साल माघ ४ गतेसम्ममा जम्मा रु १९ लाख ४२ हजार ८ सय एक गाविसलाई बुझाएको र वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाएको पुष्टि भएको आरोप पत्रमा उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस