श्रमिक अस्पताल स्थापनाका लागि कार्यदल बन्नु सकारात्मक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

श्रमिक अस्पताल स्थापनाका लागि कार्यदल बन्नु सकारात्मक


२६ माघ २०७८, बुधबार


काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले देशभरका श्रमिकलाई लक्षित गरी श्रमिक अस्पताल स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिनु सकारात्मक कदम भएको बताएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले एक विज्ञप्ति जारी गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई सुलभरूपमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन श्रमिक अस्पताल स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गर्नु सकारात्मक कदम भएको बताए ।

‘लामो समयदेखि नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिक अस्पताल निर्माणका लागि अग्रसरता लिँदै आएको सन्दर्भमा हालै मन्त्रालयले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी श्रमिकहरुको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको प्रतिनिधित्व हुने गरी कार्यदल निर्माण गर्नुले मुलुकभरिका लाखौँ श्रमिकहरु उत्साहित भएका छन्’, महासचिव कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राईले सेना, प्रहरी, निजामती कर्मचारीलगायत समग्र क्षेत्रको आआफ्नै अस्पताल सञ्चालन भइरहेको अवस्थामा अनौपचारिक, स्वरोजगार तथा कलकारखाना एवं उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि अस्पताल सञ्चालनका लागि कार्यदल गठन हुनु खुसीको कुरा भएको बताए ।

‘पटकपटक कार्यदल बन्ने, जग्गाहरु खोज्ने तर काम अघि नबढ्ने गरेको विगतको परम्परालाई चिर्दै यस कार्यदलले यो पटक एउटा निष्कर्षमा पुग्ने गरी काम गर्नुपर्छ’, उनले भने ।

नेपाल ट्रेड युनियन कांग्रेसले उक्त मानवीय एवं रचनात्मक कार्यमा पूर्ण सहयोग गर्नेसमेत बताएको छ । युनियनले तोकिएको समय सीमाभित्र काम सम्पन्न हुने गरी द्रूतरूपले काम अघि बढाउनसमेत आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस