लत्ताकपडालगायत विभिन्न मालवस्तु अवैध रुपमा आयात गरेर कर छली गर्ने ५ जनाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लत्ताकपडालगायत विभिन्न मालवस्तु अवैध रुपमा आयात गरेर कर छली गर्ने ५ जनाविरुद्ध मुद्दा दायर


२३ माघ २०७८, आइतबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजस्व अनुसन्धान विभागले लत्ताकपडालगायत विभिन्न मालवस्तुहरू भारतबाट अवैध रुपमा आयात गरेर कर छली गर्ने ५ जनाविरुद्ध उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको छ ।

राजस्व विभागका अनुसार गत माघ २० गते २ जना र २१ गते थप तीन जनाविरुद्ध गरी राजस्व छलीका दुई वटा मुद्दा दायर गरिएको हो ।

रुपन्देहीको बुटवल नगरपालिका वडा नम्बर ६ का राजेन्द्र शर्मा, न्यु कालिका सप्लायर्स बुटवलका सञ्चालक ओजहुल कुमार मसुलमान र रुपन्देही सिद्धार्थ नगरपालिका बुद्धचोकका पिकअप भ्यान धनी सहाबुद्धिन आलमविरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ । अदालतमा दायर गरेको मुद्दाको विवरणमा उनीहरुले भारतबाट भन्सार चोरी पैठारी गरेर सामान ल्याएको उल्लेख गरिएको छ ।

भारतबाट चोरी पैठारी गरेको तथा भन्सार छलेर ल्याएको लत्ताकपडाको मूल्य अभिवृद्धि कर र अन्त:शुल्कसमेत गरेर न्यु कालिका सप्लायर्सका सञ्चालकविरुद्ध १ करोड ७२ लाख ६ हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको हो । भ्यान धनी सहाबुद्धिन आलमविरुद्ध भने छुट्टै १२ लाख ८४ हजार ८ सय ५७ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको छ ।

त्यस्तै, विभागले दुई जना भारतीय नागरिकविरुद्ध पनि राजस्व छलीको मुद्दा दायर गरेको छ । भारत बिहार राज्य मोतिहारी घर भई हाल बुटवल उपमहानगरपालिका ५ विकासपथमा बसोबास गर्दै आएका आर्यन अक्षत स्टोर्सका सञ्चालक रंजित कुमार जैसवाल र उनकी श्रीमती मनिसा जैसवालविरुद्ध मुद्दा दायर गरिएको हो ।

राजस्व विभागका अनुसार जैसवालले सञ्चालन गरेको आर्यन अक्षत स्टोर्समा निकै ठुलो संख्यामा भेटिएका सामग्रीहरु भन्सार छलेर ल्याइएको देखिएको छ । ती सामानहरुको बिलबिजक जाँच गर्दा भन्सार चोरी पैठारी गरेर ल्याएको देखिएको र ती वस्तुको बिक्री गर्दा बिल बिजक जारी नगरी इस्टिमेट बिलबाट खरिद बिक्री गर्ने गरेको विभागले दायर गरेको मुद्दाको विवरणमा उल्लेख छ । उनीहरुविरुद्ध ९२ लाख ४६ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस