हिमपात प्रभावः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

हिमपात प्रभावः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह


२२ माघ २०७८, शनिबार


बैतडी । लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ ।

बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो । यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ ।

अत्यधिक चिसो बढेकाले सकेसम्म बाहिर नहिन्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । हिमपातका कारण यातायात समेत अवरुद्ध भएकाले यस्तो अवस्थामा यात्रामा ननिस्कन आग्रह गरिएको हो ।

शनिबारसम्म मौसममा सुधार नहुने र चिसोसमेत बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिकाहरूलाइ बढी समस्या हुन सक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत अनुरोध गरिएको छ ।

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको हो । हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको दशरथचन्द नगरपालिका १ मुस्याचौरका महेश भट्टले बताए ।

उनले भने, ‘वर्षा र हिमपातले अत्यधिक चिसो बढाएको छ । बाहिर निस्कनै मुस्किल भएको छ ।’

वर्षासँगै हिमपात भएपछि किसानहरु खुशी भएका छन् । हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस