महामारीमा महिला हिंसा वृद्धि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महामारीमा महिला हिंसा वृद्धि


२२ माघ २०७८, शनिबार


काठमाडौँ । कोभिड–१९को महामारीका बेलामा पनि महिला विरुद्धको हिंसाका घटनामा वृद्धि भएको छ ।

राष्ट्रिय महिला आयोगमा पदाधिकारीको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यही माघ २ गतेदेखि २० गतेसम्म मात्र २९४ वटा महिलाविरुद्ध भएका घटना दर्ता भएको जानकारी दिइएको हो ।

आयोगका अध्यक्ष कमला पराजुलीले यही माघ महिनामा भौतिकरुपमा उपस्थित भएर घटना दर्ता गराउनेको मात्र तथ्याङ्क भएको र टोल फ्री नम्बरबाट पनि त्यतिकै घटनाका उजुरी दर्ता भएको बताइन् ।

आयोगले गम्भीर प्रकृतिका घटना स्थलगत अनुगमन गरी नेपाल सरकारलाई सुझाव प्रदान गरी पीडितलाई सहयोगसमेत प्रदान गरेको छ । सातै प्रदेशका विभिन्न जिल्लामा गई विभिन्न सेवा प्रदायक निकायको अनुगमन गरेको छ ।

एक वर्षमा भएका हिंसाका घटनामा आयोगले सहयोग गरेको छ । त्यसमा गोदावरीमा मट्टीतेल खन्याई जलाइएकी मुना मगरलाई लैंगिक हिंसा निवारण कोषबाट पाँच लाख उपलब्ध गराइएको छ ।

डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटलाई लैंगिक हिंसा निवारण कोषबाट पाँच लाख उपलब्ध गराइएको छ भने बलात्कारको प्रयास भएकी महिलालाई सोही कोषबाट तीनलाख उपलब्ध गराइएको छ ।

स्वयम्भुमा बोक्सीको आरोपमा चरम यातना दिइएकी महिलालाई कोषबाट पाँच लाख उपलब्ध गराइएको भने छ । काठमाडौँ जोरपाटीबाट सडकमा अलपत्र परेका वृद्ध दम्पत्तिलाई उद्धार गरी वृद्धाश्रममा पुनःस्थापना गरेको छ ।

त्यस्तै, आयोगले मानसिक समस्या भइ समयमै उपचार नपाइ खोरमा थुनिएकी फाल्गुनन्द गाउँपालिका–४ चिलिङ्गदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङको यही माघ ९ गते उद्धार गरी काठमाडौँमा पुनःस्थापना गृहमा राखी उपचार गरिरहेको छ ।

आयोगले सरकारका सरोकारवाला निकायसँग कोरोनाको महामारीका समयमा लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रणका लागि उच्चस्तरीय समिति र सरोकारवालासँग छलफलसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस