सुरक्षण कोषको रकम लगानी गर्दे राष्ट्र बैङ्क « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुरक्षण कोषको रकम लगानी गर्दे राष्ट्र बैङ्क


२० माघ २०७८, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैङ्कले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैङ्कले आज सूचना जारी गर्दै कोषको रकम ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैङ्कमा तीन करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु एक करोड पाँच लाख गरी जम्मा २१ करोड आगामी फागुन ४ गतेदेखि २०७९ फागुन ४ सम्मका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निक्षेप लिन चाहेको रकम र त्यसमा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी यही माघ २३ गतेसम्म बोलकबोल पेस गर्न भनेको छ ।

बैङ्कले बोलकबोलमा सहभागी हुन बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको तथा राष्ट्र बैङ्कले तोकेको न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्ने सर्त राखेको छ ।

त्यस्तै निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेका, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेका तथा कर्जा निक्षेप अनुपात बैकले निर्धारण गरेको सीमाभित्र रहेका बैङ्क तथा वित्तीय संस्थाले उक्त रकम निक्षेपमा लिन बोलकबोलमा भाग लिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

त्यस्तै निक्षेप लिन बैङ्क तथा वित्तीय संस्था निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको हुनुपर्ने, रियल स्टेट कर्जा बैङ्कले तोकिएको सीमा भन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा नभएको वा समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने, सर्वसाधारणलाई छुट्याइएको शेयर जारी भइसकेको हुनुपर्ने जस्ता सर्त पालना गर्नुपर्ने बैङ्कद्वारा जारी सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस