त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ३ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ३ जना पक्राउ


२० माघ २०७८, बिहिबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरीको टोलीले संयुक्त अरब इमिरेट्स (युएई)बाट आएका गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह‚ मनहरी–७ मकवानपुरका नवराज परियार र भोटेकोसी–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट १ केजी १ सय ५५ ग्राम सुन बरामद गरेको हो ।

उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट ४ थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब १ करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत आज (बिहीबार) त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।

पक्राउ परेकामध्ये शेर्पाले मलद्वारमा लुकाएर ल्याएको १ केजी १ सय ५५ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मूल्य ८३ लाख ३८ हजार २ सय ४७ रुपैयाँ पर्छ । त्यस्तै साहको साथबाट ६ लाख ४० हजार मूल्य बराबरका ४ थान आइफोन, ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ बराबरका बेरुवा औँठी र सिक्री बरामद भएको छ ।

परियारको साथबाट १ लाख ६० हजार रुपैयाँ बराबरको एउटा आइफोन र ३ लाख ९५ हजार २ सय २५ रुपैयाँ बराबरका सुनका औँठी र सिक्री बरामद भएको हो । पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस