रुकुम पश्चिममा आलोपालो गर्दै छन् स्वास्थ्यकर्मी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुकुम पश्चिममा आलोपालो गर्दै छन् स्वास्थ्यकर्मी


१७ माघ २०७८, सोमबार


रुकुम पश्चिम । रुकुम पश्चिमको जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीले आलोपालोबाट बिरामीको उपचार गर्न थालिएको छ । स्वास्थ्यकर्मीमै धेरै सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालमा आलोपालो गरेर उपचार भइरहेको हो ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि निको भएकाले मात्रै ड्युटी गर्दै छन् । हालसम्म जिल्ला अस्पतालका १५ जनाभन्दा बढी स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

अस्पतालका सूचना अधिकारी कालीबहादुर ओलीले सङ्क्रमण भएकाहरू आइसोलेसनमा बस्ने र निको भएकाहरूले उपचार गर्ने गरिएको बताए । जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको सङ्ख्या थोरै छ । यसैले पनि सङ्क्रमण भएको केही दिनमा फेरि परीक्षण गरेर तिनै स्वास्थ्यकर्मीलाई उपचारमा खटाइरहेको जानकारी उनले दिए ।

पहिलो चरणमा पुष्टि भएकाहरू केही दिन आइसोलेट भएर फेरि उपचारमा फर्किएका छन् । पछिल्लो पटक सङ्क्रमण भएकाहरू आइसोलेसनमै छन् । स्वास्थ्यकर्मी सङ्क्रमण भएका बेला अरूले थप काम गरेरै भए पनि सेवा निरन्तर दिइरहेको डा. भीमकान्त जैसीले बताए । डा. जैसी पहिलो चरणमा सङ्क्रमित भएका थिए ।

५ दिन आइसोलेसन बसेपछि आफू पुनः ड्युटीमा फर्केको उनले बताए । ‘गत वर्षको जस्तो अस्पतालको सेवा नै ठप्प छैन,’ उनले भने, ‘सङ्क्रमित स्वास्थ्यकर्मीलाई अलग्गै राखेर बाँकीले अस्पतालका सबै सेवालाई निरन्तरता दिइरहेका छौँ ।’ अस्पतालका चिकित्सक, स्टाफ नर्स, आकस्मिकका पारामेडिक्स, ल्याब, एक्सरे, जनस्वास्थ्य सबै विभागका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सङ्क्रमण भइसकेको छ ।

सङ्क्रमित अस्पतालका सबै स्वास्थ्यकर्मी आ–आफ्नै निवासमा छन् । जिल्ला अस्पतालको आइसोलेसनमा एक जनाको उपचार भइरहेको छ । हालसम्म ३ जना बिरामी उपचारका लागि भर्ना भए । जसमध्ये एक जनालाई नेपालगन्ज रिफर गरिएको छ भने एक जना डिस्चार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस