पाथीभरा जाने सडक कालोपत्र हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाथीभरा जाने सडक कालोपत्र हुने


१७ माघ २०७८, सोमबार


फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ ।

बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो ।

पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले जनाएको छ ।

योजना कार्यालयका सबइन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ ।

दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सबइन्जिनियर लिम्बूले बताए ।

पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र बनेको छ ।

पाथीभरा जाने सडक कालोपत्र भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

काफ्लेका अनुसार अहिले वार्षिक रुपमा तीन लाखको हाराहारीमा तीर्थयात्रीहरु पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्ले पाटीसम्म सडक कालोपत्र भएमा करिब ३५ प्रतिशत तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने पाथीभरा क्षेत्र विकास समितिले अपेक्षा राखेको छ ।

हाल कच्ची सडक भएका कारण सुकेटारदेखि उता जुनसुकै सवारीसाधन नजाने हुँदा तीर्थयात्रीको तीर्थयात्रा सकसपूर्ण रहँदै आएको छ । तीर्थयात्री आफैँले लिएर आएको सानो गाडी कच्ची सडकमा नजाने हुँदा सुकेटारदेखि यहाँका स्थानीयवासी गाडीमा जानुपर्ने अवस्था रहेकाले तीर्थयात्रीले निकै सास्ती खेप्दै आएका छन् ।

अब पाथीभरा सडक कालोपत्र बनेमा भने तीर्थयात्रीले लिएर आएको गाडी नै पाथीभरा क्षेत्रसम्म पुग्ने हुँदा देश विदेशका तीर्थयात्रीलाई सहज हुनाका साथै ठूलो राहत मिल्ने कार्यकारी निर्देशक काफ्लेले बताए ।

यता पाथीभारा क्षेत्रको कालोपत्र भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने र यसले समग्र जिल्लाको आम्दानीसमेत बढ्ने होटेल व्यवसायीहरुको अपेक्षा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस