बाघ संरक्षण गरेबापत बर्दिया निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बाघ संरक्षण गरेबापत बर्दिया निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार


१४ माघ २०७८, शुक्रबार


काठमाडौँ । बाघको सङ्ख्या दोब्बर तुल्याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ ।

सन् २०१० यता लोपोन्मुख प्रजातिको सङ्ख्यालाई दोब्बर तुल्याएको भन्दै बर्दियासहित भारतको सत्यमंगलम बाघ संरक्षण केन्द्रलाई टीएक्स-२ अवार्ड पुरस्कार दिने घोषणा गरिएको हो ।

टीएक्स-२ अवार्ड पृथ्वीको लोपोन्मुख प्राणीको रुपमा रहेको बाघको संरक्षणका लागि चालिएको महत्त्वाकाङ्क्षी संरक्षण कदम हो । यही उद्देश्यबारे छलफल गर्न आगामी सेप्टेम्बरमा रुसमा विश्व बाघ सम्मेलन समेत आयोजना हुँदै छ ।

९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणका लागि सरकारदेखि राष्ट्रसङ्घीय नियोग युनिसेफसम्मले काम गर्दै आएका थिए । बर्दिया निकुञ्जमा रोयल बङ्गाल टाइगर प्रजातिको वासस्थान समेत रहेको छ ।

सन् २०१८ को बाघ गणनाअनुसार अहिले नेपालमा २३५ भन्दा बढी बाघ छन् । सन् २००९ मा यो सङ्ख्या १२१ थियो ।

निकुञ्जका अधिकारीहरुले उपयुक्त प्राकृतिक वासस्थान, आहारको लागि उपयुक्त थलो र सुरक्षाजस्ता कारणले बर्दियामा बाघको सङ्ख्या दोब्बर भएको जनाएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कोषका सूचना अधिकारी बेदकुमार ढकालले विश्व प्रतिष्ठित पुरस्कारले संरक्षणतर्फ आफूहरुलाई थप उत्तरदायी तुल्याउने र बाघ संरक्षणतर्फ थप प्रेरित गर्ने बताए । सन् २०१९ मा पनि निकुञ्जले दिगो १०० गन्तव्य नामक पुरस्कार जितेको थियो ।

ग्लोबल टाइगर रिकभरि प्लान समेत भनिने टीएक्स-२ लाई संसारमा बाघ पाइने १३ मुलुकले स्थापना गरेका हुन् । सन् २०१० को सेन्ट पिटर्सवर्ग घोषणापत्रमा हस्ताक्षर गरेको नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्यालाई दोब्बर तुल्याउने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस