कर्णाली प्रदेशमा उत्पादित बिजुली पहिलो पटक राष्ट्रिय प्रसारण लाइनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेशमा उत्पादित बिजुली पहिलो पटक राष्ट्रिय प्रसारण लाइनमा


१३ माघ २०७८, बिहिबार


सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन भएको बिजुली पहिलो पटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

दैलेख नौमुले गाउँपालिकामा निर्माण भएका दुई वटा जलविद्युत् आयोजनाबाट ८.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो । यो सँगै अब दैलेख पूर्ण रुपमा लोडसेडिङ मुक्त जिल्ला बन्ने भएको छ ।

दैलेखबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान कर्णाली प्रदेशकै पहिलो हो । विद्युत् उत्पादन सफल परीक्षण भएको छ ।

नौमुले गाउँपालिका–३ द्वारीमा निर्माण भएको ३.७५ मेगावाट क्षमताको द्वारी जलविद्युत् आयोजना र सोही गाउँपालिकाको वडा नं. ४ मा निर्माण भएको ४.५ मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजनाको सफल परीक्षण भएको हो ।

नेपाल विद्युत् प्राधिकरण दैलेख केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले कोहलपुर–सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखमा समेत विद्युत् अवरुद्ध हुने समस्या अब समाधान भएको बताए ।

उनले भने, ‘अहिले पावर हाउस निर्माण गरेको भारतीय कम्पनीबाट इन्जिनियरले आइसोलेसन मोड सञ्चालन गर्ने काम सुरु गरिएको छ । अब विद्युत् नियमित हुनेछ । माघ १५ गतेभित्र दैलेख सदरमुकाम पूर्ण लोडसेडिङमुक्त हुनेछ । चैतभित्र दुल्लु क्षेत्र र असारसम्म जिल्ला नै लोडसेडिङमुक्त बनाउने अभियानको थालनी गरिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस