सबै सिटमा पाँच दलीय गठबन्धन विजयी हुनेछन् : अध्यक्ष नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सबै सिटमा पाँच दलीय गठबन्धन विजयी हुनेछन् : अध्यक्ष नेपाल


१२ माघ २०७८, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १८ वटै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने बताएका छन् ।

आलोकनगरस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राष्ट्रिय राजनीतिमा आफ्नो दलले तरङ्ग पैदा गरेको बताए । राष्ट्रियसभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धन मिलेर उम्मेदवार खडा गरेकामा आफ्नो दलले पाँच सिट पाएको र तीलगायत पाँचै दलका उम्मेदवार विजयी हुने उनले बताए ।

नेपाली काँग्रेसले छ, नेकपा (माओवादी) केन्द्र पाँच, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट एक सिट रहेको छ । उनले भने, ‘हामीले उठाएको १८ ठाउँमा नै गठबन्धनका उम्मेदवार विजयी हुनेछन् र त्यसले देशमा तरङ्ग पैदा गर्नेछ ।’

आर्थिक मितव्ययिताका लागि तीन तहको चुनाव एकै पटक गर्न सकिने अध्यक्ष नेपालको सुझाव छ । एउटा तहको मात्रै चुनाव गराउँदा झन्डै रु पाँच अर्ब खर्च हुने र गत निर्वाचनमा जसरी पाँच चरणमा निर्वाचन गर्दा झन्डै रु २५ अर्ब खर्च हुने उनले बताए ।

स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनको विषयमा बहस भइरहेको उनले बताए । संविधान सर्वोपरी राखेर कानुनअनुसार नै चुनाव हुनुपर्नेमा उनको जोड छ । उनले भने, ‘एकै पटकमा तीन वटै चुनाव गराउन सक्दा त्यो राम्रो हुन्छ ।’ विद्रोहका चेतकासाथ कम्युनिस्ट आन्दोलन अघि बढाउन पार्टी गठन भएको अध्यक्ष नेपालले बताए।

पार्टी जिल्ला हुँदै पालिका र वडा कमिटीसम्म विस्तार भइरहेको उनले बताए। कोरोनाका कारणले अवरोध आइरहे पनि जिल्ला जिल्लामा अरु पार्टी छाडेर प्रवेश गर्नेको अभियान जारी रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस