कोभिड बढेसँगै कारागारमा प्रत्यक्ष भेटघाट बन्द « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोभिड बढेसँगै कारागारमा प्रत्यक्ष भेटघाट बन्द


१२ माघ २०७८, बुधबार


खलङ्गा । कोरोना सङ्क्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ ।

कारागारमा प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो ।

कारागारका जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएकाले बन्द गरिएको बताए ।

कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको हो । कारागार घेराबारदेखि बाहिर कम्तीमा १५ मिटर टाढाबाट मात्रै आफन्तले भेटघाट र कुराकानी गर्न सक्ने कारागार कार्यालयले जनाएको छ ।

यस्तै स्थानीय प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जमघट र भेला हुनसमेत रोक लगाएको छ । जोखिम बढेसँगै कैदीबन्दीका आफन्तसँग भेटघाटमा रोक लगाइएको हो ।

अहिले कारागारमा १६ कैदीबन्दी बिरामी छन् । उनीहरूलाई ज्वरो आउने, टाउको जीउ दुख्ने लक्षण देखिएको छ । उनीहरूलाई औषधि चलाएको कारागारका अहेब महेश महतले बताए ।

कैदीबन्दीलाई औषधि चलाए पनि कोरोना परीक्षण भने गरिएको छैन । कोरोनाको पहिलो र दोस्रो लहरमा जुम्ला कारागारका कैदीबन्दी प्रभावित भएका थिए ।

दोस्रो लहरका यहाँ १४ जना सङ्क्रमित भएका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको थियो । अहिले कारागारमा एक महिलासहित ११५ कैदीबन्दी रहेको कारागार कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस