इजरायलमा जिटुजी प्रक्रियामार्फत श्रमिक पठाउन सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इजरायलमा जिटुजी प्रक्रियामार्फत श्रमिक पठाउन सुरु


५ माघ २०७८, बुधबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएकाहरूमध्ये पहिलो चरणमा ९९ जना इजरायल उडेका छन् ।

श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालले बुधवार बिदाइ गरे । निजी क्षेत्र तथा बिचौलियारहित सरकार–सरकार(जिटुजी) प्रक्रियामार्फत पहिलो पटक उनीहरू इजरायल गएका हुन् ।

६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल गएको मन्त्रालयले जनाएको छ । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । यसपछि माघ १५ र १६ गते दुई उडान हुनेछ ।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएकोमा छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ ।

नेपाल सरकार र इजरायल सरकारबिच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

इजरायल जाने नेपालीले मासिक करिब २ लाख रुपियाँ पारिश्रमिक पाउने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस