स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह


२७ पुस २०७८, मंगलबार


मकवानपुर । जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउनका लागि पनि सबैले आ–आफ्नो तर्फबाट प्रतिबद्धता गर्नाका साथै आम नागरिकमा स्वास्थ्य मापदण्ड अवलम्बन गर्न आग्रह गरेको हो ।

जिल्लाभित्र कोभिड–१९ सङ्क्रमितको सङ्ख्या क्रमिक वृद्धि हुँदै गइरहेकाले सबै क्षेत्रलाई जनस्वास्थ्यका मापदण्ड पालना गरी उच्च सतर्कता अपनाउन आह्वान गर्ने निर्णय गरिएको हो ।

सबै स्थानीय तहले आ–आफ्नो पालिकामा वृहदरूपमा खोप अभियान सञ्चालन गरी नागरिकमा खोप लगाउने व्यवस्था प्रभावकारीरूपमा मिलाउने व्यवस्थाका साथै कोरोना परीक्षणको दायरासमेत बढाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सबै स्थानीय तहले स्वास्थ्यका पूर्वाधार, जनशक्ति र अक्सिजनको व्यवस्था गरी पूर्व तयारीको अवस्थामा रहनुपर्नेमा जोड दिइएको छ ।

प्रवाह हुने सरकारी सेवालाई खोप अभियानसँग जोड्न सरकारी कार्यालय एवं सार्वजनिक संस्थानले सेवाग्राहीले कोभिड–१९ विरुद्धको खोप लगाए–नलगाएको यकिन गर्न र खोप नलगाएको पाइएमा लगाउन अनुरोध गर्नुपर्ने जनाइएको छ ।

जिल्लामा पुनः कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले सबै क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरी उच्च सतर्कता अपनाउन प्रजिअ पाण्डेले अनुरोध गरेका छन् ।

जिल्लाभित्र कोभिड–१९ को सङ्क्रमणको जोखिम नियन्त्रण एवं न्यूनीकरण गर्न, जनजीवनलाई सामान्य तुल्याई राख्न, बढी भीड हुने गतिविधि नगर्न, भौतिक दूरी कायम गर्न र मास्क प्रयोग गर्न गराउन पनि अपिल गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस